देशको समसामयिक विषयमा कैलालीमा कार्यकर्ता प्रशिक्षण सम्पन्न
लम्की चुहा, कैलाली । १२ माघ २०७७, सोमबार ।
नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा सोमबार कैलालीको लम्कीचुहामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा सोमबार कैलालीको लम्कीचुहामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा बोल्नुहुँदै पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पार्टीको इतिहास र उद्देश्यबारे प्रष्ट पार्दै नेमकिपाको उद्देश्य कामदार वर्गलाई शासन सत्तामा पु¥याउने हो भन्नुभयो ।
उहाँले पूँजीवादी व्यवस्था कामदार जनतालाई शोषण गर्ने व्यवस्था हो भन्नुहुँदै जनतालाई राजनैतिक रुपले सचेत र संगठित पार्न, समाजवादी क्रान्तिलाई टेवा पु¥याउन र राजनैतिक स्पष्टताको लागि निर्वाचनमा भाग लिने नीति नेमकिपाले लिएको बताउनुभयो ।
नेहरु डक्ट्रिनअनुसार भारतले नेपालमाथि कब्जा जमाउने भारतको उद्देश्य कहिल्यै सफल हुन दिनुहुन्न भन्नुहुँदै भारतले नेपालमा आफूअनुकूल प्रचण्डलाई नेपालको प्रधानमन्त्री बनाउने र नेपाललाई सिक्किम र भुटानजस्तै आफ्नो कब्जामा लिन खोजिरहेको उहाँले बताउनुभयो ।
“पार्टीको सिद्धान्त र विचार नै पार्टीको शक्तिशाली हतियार हो । नेमकिपाले सदनलाई संघर्ष गर्ने थलोको रुपमा उपयोग गर्दै संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेको छ”– उहाँले भन्नुभयो । चुनावबाट समाजवाद आउँछ भन्ने माक्र्सवादविरोधी सिद्धान्त भएको बताउनुहुँदै उहाँले निर्वाचनको क्रममा शासक दलका नेताहरुबीच पद र भागबण्डाको लागि भएको झगडा जनतासमक्ष आउने डरका कारण शासक दल निर्वाचनदेखि डराइरहेका छन् भन्नुभयो ।
शासक दलले राजनीतिलाई ब्यापार गर्ने थलोको रुपमा विकास गरिरहेको बताउनुहुँदै प्रमुख अतिथि प्रजापतिले नेकपा भित्रको झगडामा कुनै सैद्धान्तिक र नीतिगत आधार नभएको बताउनुभयो । उहाँले नेकपालाई नक्कली कम्युनिष्टको संज्ञा दिनुहुँदै नेमकिपा देशको स्वन्त्रता, सार्वभौमिकता र स्वाधीनता रक्षा गर्ने पक्षबारे जनतालाई प्रशिक्षित गर्ने अभियानमा छ भन्नुभयो ।
भक्तपुर नपाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी ६ वटा शैक्षिक संस्थाहरु सञ्चालन गर्दै देशभरीका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुहुँदै भक्तपुर नपाले घोषणापत्रअनुसार आफ्ना कार्यहरुलाई अगाडि बढाइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्र बहादुर शाहीले राजनीतिक पार्टीको नीति र सिद्धान्त सही भए देशको समृद्धि हुन्छ, जनताको पक्षमा कानुन निर्माण हुन्छ भन्नुहुँदै नेकपा कम्युनिष्ट पार्टी होइन भन्ने विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएको बताउनुभयो ।

नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले नेपालमा समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपा संघर्षरत रहेको बताउनुहुँदै नेकपा पुँजीवादी पार्टी भएको हुँदा व्यापक जनताको भन्दा पुँजीवादी वर्गको हितमा ऐन कानुनहरु निर्माण गरिरहेको बताउनुभयो । उहाँले संसद विघटनबारे नेमकिपाको दृष्टिकोणबारे स्पष्ट पार्नुहुँर्दै संसद पुनःस्थापना भन्दा निर्वाचनमा भाग लिनु प्रजातान्त्रिक कदम हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य रोशनमैंया सुवालले पार्टी स्थापनाकालदेखि समाजवादी व्यवस्था स्थापनाको लागि आवाज उठाउँदै आइरहेको बताउनुहुँदै नेमकिपाले बहुमत किसानको अधिकार र हक हित प्राप्त गर्नको निम्ति संघर्ष तथा आन्दोलन गरेको प्रष्ट पार्नुभयो । २०४६ सालको आन्दोलनमा नेमकिपाले खेलेको भूमिकाबारे प्रशिक्षित गर्नुहुँदै उहाँले नेपालको प्रजातान्त्रिक अधिकार प्राप्त गर्न नेमकिपाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
नेमकिपा कैलालीका उपाध्यक्ष ज्योति बडुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य जड्डबहादुर तरामी, नेमकिपा कैलालीका गगन थापामगर र लक्ष्मी पुनले पनि बोल्नुभएको थियो ।

