भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा निगरानीको लागि कर्मचारीहरू खटाइँदै
२०७७ साउन ३२ गते, आइतबार
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका संक्रमितहरू समुदायस्तरमै फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश मुख्य नाकाहरूमा नगर प्रवेश गर्नेहरूको विवरण संकलन र आवश्यक निगरानीको लागि भदौ १ गतेदेखि नगरपालिकाका कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा पर्यटक सेवा केन्द्रका कर्मचारीहरूबीच आइतबार बसेको बैठकले नगर प्रवेश गर्ने नाकाहरूमा विशेष सावधानीका साथ नगर प्रवेश गर्नेहरूको विवरण संकलन र आवश्यक निगरानी गर्ने निर्णय ग¥यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू समेत कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम् परिस्थितिमा नेपालमा ‘महामारी फैलिन’ अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाई यो रोगको संक्रमणबाट जोगिन आवश्यक भएको बताउनुभयो ।
कोभिड १९ रोगको संक्रमण नियन्त्रणको लागि भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने मुख्य मुख्य नाकाहरूमा कडाइका साथ निगरानी गर्न र आवश्यक सतर्कता अपनाउने कार्यहरू गर्नको लागि भदौ १ गतेबाट नगरपालिकाका कर्मचारीहरू ती क्षेत्रहरूमा परिचालन हुने बताउनुहु“दै नागरिकहरूको जीवन रक्षाको निम्ति सबै किसिमका उपायहरू अपनाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न प्रेरित गर्नुभयो ।
कोभिड १९ को महामारी नियन्त्रणमा समाजवादी देश र पुँजीवादी देशबीच भिन्न–भिन्न अनुभव रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले समाजवादी देशहरूमा सरकारको जनताप्रतिको जिम्मेवारीबोधका कारण कोभिड १९ को संक्रमण नियन्त्रण गर्नमा सफलता प्राप्त गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कोभिड १९ कारण देशमा सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा असर पुगेको र विषम् समयमा जनप्रतिनिधि र कर्मचारीहरूले समुदायमा कोरोना संक्रमण फैलिन नदिन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
वडाध्यक्ष रबिन्द्र ज्याख्वले कोरोना संक्रमितहरूको व्यवस्थापनको लागि आवश्यक आइसोलेसन कक्षको जिम्मा सरकारले लिनुपर्ने भन्दै नजिकिँदै गरेको पञ्चदान पर्व र कुशे औंसी सुरक्षित ढंगले मनाउनको निम्ति जनतालाई सचेत पार्नुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा सल्लाघारी—नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी रहेको छ ।