Explore news and happenings at Bhaktapur

प्याब्सन भक्तपुर नगरको पहिलो ऐतिहासिक अधिवेशन

0

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (PABSON) भक्तपुर नगरको पहिलो ऐतिहासिक नगर अधिवेशनको शनिबार उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रममा उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पासनमा दिप प्रज्वलन गरी गर्नुभयो ।

उहाँले भक्तपुरको शैक्षिक विकासमा प्याब्सनको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै सामुदायिक विद्यालय राम्रो नभएसम्म संस्थागत विद्यालयको औचित्य रहिरहने बताउनुभयो ।
उहाँले सरकारले शिक्षामा बजेट बढाउनुको साटो थप घटाउँदै लगेको विरोध गर्दै भक्तपुर नपाले स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर सामुदायिक र संस्थागत विद्यालयबीचको भेद हटाउन संयुक्त रुपमा खेलकुद, साहित्य वाचन प्रतियोगिताको आयोजना र सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गरिसकेको बताउनुभयो । उहाँले देशमा संघियता भए पनि केन्द्रको हस्तक्षेप बढेको बताउँदै जिल्ला शिक्षा समन्वय एकाई बनाई शिक्षक करारमा नियुक्त गर्न समेत केन्द्रले गर्न खोजेकोमा आपत्ति जनाउनुभयो ।

अतिथि प्रजापतिले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा गाभ्दै नयाँ नक्सा निकालेबारे कूटनैतिक पहलभन्दा अन्तर्राष्ट्रिय अदालतमा लानुपर्नेमा जोड दिंदै विद्यार्थीहरुमा देशभक्ति भावनाको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले स्विकृति दिएको खण्डमा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो ।

प्याब्सन नगर समितिको आयोजनामा सम्पन्न नेपाल प्रचलित लिपी र रञ्जना लिपीमा सहभागी शिक्षिकाहरुलाई प्रमाणपत्र सम्बन्धित विद्यालयक प्रधानाध्यापकलाई प्रदान गर्नुभयो ।
प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष चन्द्र अधिकारीले देशको शिक्षा नीति स्पष्ट हुनुपर्ने बताउनुभयो ।
एन प्याब्सनका अध्यक्ष पुण्यराम कवांले नगरपालिकाको हरेक गतिविधिमा संस्थागत विद्यालयहरु समन्वय गर्दै अगाडि बढिरहेको बताउनुभयो । प्याव्सन भक्तपुर सल्लाहकार भक्त राजभण्डारीले भक्तपुर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भनपाको अगुवाई आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका सचिव विजय कर्माचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोजक समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा चण्डिका कायस्थलगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.