Explore news and happenings at Bhaktapur

ख्वप कलेज र शारदा क्याम्पसमा शुभकामना आदान प्रदान कार्यक्रम

२०७६ असाेज १७ गते शुक्रबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसको आयोजनामा विजया दशमी तथा शुभ दिपावली २०७६ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेज तथा शारदा क्याम्पसको आयोजनामा शुक्रबार शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले पार्टी स·ठन विस्तारको लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्न सबैमा अनुरोध गर्दै नेमकिपाले जनतालाई राजनीतिकरूपले शिक्षित गर्न माक्र्सवादी साहित्य र विभिन्न अन्तर्राष्ट्रियवादी कम्युनिस्ट नेताहरूको जीवनीलाई प्रकाशन गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “क्रान्तिकारी प्रचार सामग्री कागजको खोस्टामात्र नभई क्रान्तिको बिउ हो । जसले समयकालपछि बेथिति र निरङ्कुशताविरूद्ध वम–बारूद बनेर क्रान्तिको ज्वारभाता उठाउन सहयोग गर्नेछ ।”
“समाजमा आमूल क्रान्तिको लागि अगाडि बढ्ने असल मान्छेको उद्देश्यलाई विफल बनाउन प्रतिक्रियावादीहरूले अन्तिम हदसम्म पनि बाधा–व्यवधान खडा गर्नेप्रति सचेत भई क्रान्तिकारीहरू उद्देश्य प्राप्तिमा अविचलित भई अगाडि बढ्नु आवश्यक छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
‘रातो झण्डा खसाल्न रातो झण्डा उचाल्ने’ काम सत्तामा गएका पार्टीहरूले गरिरहेको स्पष्ट पार्दै अध्यक्ष रोहितले नेमकिपाका कार्यकर्ताहरूलाई विभिन्न लोभलालच देखाई पथभ्रष्ट गर्ने काम नेकपाले गरिरहेको छ भन्नुभयो ।
“आमाको नाममा नागरिक दिएकै तराईको जनसङ्ख्या २७ प्रतिशतबाट बढेर ५२ प्रतिशत पुगिसकेको छ । यो भारतीयविस्तारवादको योजना अनुसार नै भएको हो”, उहाँले भन्नुभयो ।
समाजलाई कतातिर डोर्‍याउने भन्ने हात शिक्षकहरूमा हुनेतर्फ सचेत गराउँदै उहाँले शिक्षकहरूले नयाँ पुस्तालाई देश र जनताको सेवामा निःस्वार्थपूर्वक सेवा गर्ने शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “चाड–पर्वलाई भौतिकवादी/आलोचनात्मक दृष्टिकोणले हेनुपर्छ । समाजमा कायम रहेको अन्धविश्वासलाई हटाउनमा शिक्षित समुदायले भूमिका निभाउनुपर्छ । फुर्सदको समयमा साहित्य, दर्शनलगायतको विषयमा अध्ययन गर्नुका साथै बौद्धिक विकासमा लगाउनुपर्छ ।”

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले शुभकामना व्यक्त गर्दै असोज २३ र २४ गते हुने राष्ट्रिय स्तरको सम्मेलन (तःमुंज्या) मा सहभागी हुन सबैमा अनुरोध गर्नुभयो ।
भनपाले कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले कलेजहरू सञ्चालन गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रा शैक्षिक संस्थानहरूले मात्र प्रमाणपत्र वितरण गर्ने हिसावले अध्यापन गराउने होइन । हामी राम्रोमध्येमा पनि सबभन्दा राम्रो शिक्षा दिने उद्देश्यले सबैले मेहनत गर्नु आवश्यक छ ।”
राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र भ्रष्टाचारमा जनप्रतिनिधहरू समेत मुछिएको समाचारहरू सङ्घीयताप्रति व्यङ्ग्य भएको उल्लेख गर्र्दै प्रमुख प्रजापतिले सरकार भ्रष्टाचार, ठेक्कादार र माफियाको अगाडि लाचार भएको छ भन्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भइरहेको साथै उक्त अस्तापलले भनपाबीच भएको सम्झौता पालना नगरेको हुँदा अस्पताललाई राम्रो बनाउने उद्देश्यले भनपाले क्यान्सर अस्पतालको व्यवस्थापनको जिम्मा लिएको हो, प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
नेमकिपाले नै देश र जनताको निःस्वार्थपूर्वक काम गर्न सिकाएअनुसार भनपाका जनप्रतिनिधिहरूले काम गरिरहेको चर्चा गर्दै उहाँले पैसाले मानिसलाई आत्मसन्तुष्टि नदिने बरु समाज सेवाले मात्र आत्मसन्तुष्टि दिन सकिने स्पष्ट पार्नुभयो ।

भनपाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले स्वस्थ जनताले नै देशको सेवा गर्न सकिने भएकोले सबभन्दा पहिला हामी स्वस्थ रहन जरूरी छ भन्नुभयो ।

संस्कृति र संस्कारलाई जोगाउनुपर्नेमा जोड दिंदै उहाँले क्यान्सर रोग एउटा व्यापारको रूपमा विकृति भइरहेकोतर्फ सजग गराउनुभयो ।
भनपाले गरिरहेको विभिन्न कार्यक्रमहरूबारे जानकारी दि‌ंदै उहाँले नेमकिपाको घोषणापत्रअनुसार नै नगरपालिकामा विकास निर्माणका काम भइरहेको बताउनुभयो ।

प्राध्यपाक समाजका अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले राजनीतिको नेतृत्व ‘रोल मोडल’ हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ र इन्चार्ज कमिनिका न्याइच्याईले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेमकिपाको सातौ महाधिवेशनबाट चुनिनु भएको केन्द्रीय पदाधिकारीहरुलाई प्राचार्य जोशीले कार्यक्रममा सम्मान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.