Explore news and happenings at Bhaktapur

वडा नं. ७ मा कौसी खेती तालिमको प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान सम्पन्न

२०७६ असोज १६ गते । बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा वडा नं. ७ को आयोजना भएको तीन दिने कौसी खेती तालिमको प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैंलाई रचनात्मक किमिसले मनाउन आग्रह गर्दै दसैंको समयलाई सदुपयोग गरी स्वस्थ खानपानमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।

भक्तपुर अस्पतालमा कर्मचारी समायोजनका कारण विशेषज्ञ डाक्टरहरुको अभाव भइरहेको र बिरामीहरु समस्यामा परेको बताउनुभयो । प्रमुख प्रजापतिले भक्तपुर क्यानसर अस्पतालको व्यवस्थापनको निम्ति भक्तपुर नगरपालिकाको नेतृत्वमै अस्पताल सञ्चालन हुनेमा प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले सबै वडामा कृषकहरुलाई लक्षित गरी विभिन्न उपयोगी तालिमहरु सञ्चालन गरी किसानहरुलाई आवश्यक तरकारीहरु कौसीकै जग्गामा उत्पादन गर्न सकिने बताउनुभयो ।

उहाँले कौसी खेती कम जग्गामा बढी उत्पादन गर्ने वैकल्पिक उपाय भएको बताउनुहुँदै कृषि विज्ञहरुको सल्लाहमा मात्र विषादी र किट्नाशक औषधिको प्रयोग भए जोखिम न्युनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल सरकारले प्रदान गर्दै आएको अनुदान वास्तविक किसानले प्राप्त गर्न नसकिरहेकोमा आपत्ति जनाउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कौसी खेतीले वातावरण सफा गर्नुका साथै ताजा तरकारी उपभोग गर्न पाइने बताउनुभयो । आफूले सिकेको तालिमको प्रयोग गरी टोल–छिमेकमा पनि कौसी खेतीबारे शिक्षित गर्न प्रेरित गर्नुहुँदै वडाध्यक्ष कवांले स्वस्थ जीवनको लागि नियमित शारीरिक व्यायाम र खेलकुदका गतिविधिमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

भनपा वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समितिका संयोजक राजकृष्ण गोराले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको कृषि तालिमहरुबारे जानकारी गराउनुहुँदै कृषि पेशालाई सम्मानित पेशा भएको बताउनभुयो ।

 

 

कौसी खेती तालिमका प्रशिक्षक एवम् कृषि विज्ञ सबिन ख्याजुले मानव स्वास्थ्यको लागि विषादी प्रयोग निकै हानिकारक भएको, विषादीको प्रयोग आर्थिक र स्वास्थ्यको हिसाबले मह“गो र जोखिमपूर्ण भएकोले किसान तथा व्यवसायीहरु सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा वडा नं. ७ गोल्मढी एकाई समितिका अध्यक्ष बलराम गोसाइँ र ७ वडा पार्टी इनाचोका अध्यक्ष कृष्णगोविन्द लाखाजुले कौसी खेती तालिमको महत्व र समसामयिक विचारमा आ–आफ्नो विचार राख्नुभयो ।

उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ कृषि समिति संयोजक  तथा वडा सदस्य हेरा ख्याजु, रञ्जना त्वाती र कृषि समितिका सचिव हरिकृष्ण सुकुपायले दशैंको शुभकामना व्यक्त गर्नुुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षक ख्याजु र ३१ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.