Explore news and happenings at Bhaktapur

नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन

भक्तपुर, २०७६ असोज १ गते बुधबार ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा बुधबार नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

    कार्यक्रमको सफलताको कामना गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुनसक्ने यहाँको कला–संस्कृति संरक्षण भइरहनेछ भन्नुभयो ।

    उहाँले भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

    उहाँले डकर्मीहरूको जीवन सुरक्षाको निम्ति डकर्मीहरूलाई प्राथमिक उपचारबारे प्रशिक्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे पनि सिक्न अभिप्रेरित गर्नुभयो ।

 

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा भइरहेका विकास निर्माण तथा सांस्कृतिक सम्पदा पुनःनिर्माण उपभोक्ता समितिमार्फत् गुणस्तरीय ढंगले अगाडि  बढिरहेको जिकिर गर्नुभयो ।

भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बढिरहेको जिकिर गर्नुहुँदै प्रमुख प्रजापतिले नेपाली कामदारहरू बिस्तारै बिस्थापित हुने खतरा बढेको बताउनुभयो ।

    कमसल निर्माण र आर्थिक अनियमितता तथा भ्रष्टाचारका कारण ठेकेदारहरूले बद्नाम कमाइरहेको बताउनुहुँदै उहाँले ठेकेदारहरूलाई इमानदारीपूर्वक काम गर्न प्रेरित गर्नुभयो ।

    नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्लाका अध्यक्ष उपेन्द्र सुवालले भक्तपुरका डकर्मी तथा कालीगढहरूले देशको विभिन्न जिल्लामा गरिरहेको निर्माणका कार्यहरू प्रशंसनीय रहेको बताउनुहुँदै भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे अवगत गराउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी संघका अध्यक्ष विष्णुराम दुमरुले कामदार वर्गको हकहितको लागि संघ प्रतिबद्ध रहेको बताउनुहुँदै डकर्मीहरूले कामको समयमा आवश्यक सुरक्षाहरू अपनाउनुपर्ने कुराहरूबारे प्रस्ट पार्नुभयो ।

    भक्तपुर सिकर्मी संघका अध्यक्ष विक्रम ढुकुछुले दुईतिहाइ बहुमत प्राप्त सरकारले कामदार वर्गको पक्षमा नरहेको र पुँजीपति वर्गको पक्षमा काम गरिरहेको बताउनुहुँदै सबै पेशाका मजदुरहरू राजनैतिक रुपले संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल क्रान्तिकारी डकर्मी संघका उपाध्यक्ष विक्रम कासिछ्वा, नेपाल क्रान्तिकारी मजदुर संघका शिव सितिखु र नेपाल डकर्मी संघका सूर्यनारायण फाँजूले संघ स्थापनाको उद्देश्य र महत्वबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.