प्रमुख सुनिल प्रजापतिद्वारा जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन
२०७६ भदौ २७ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर नपा वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गर्नुभयो । उक्त पोखरी भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७५—७६ मा पुनःनिर्माण सम्पन्न सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगरप्रमुख प्रजापतिले पुराना सम्पदाहरु नव–निर्माण गरिंदा इतिहास मेटिने सम्भावना भएको हुँदा भक्तपुर नगरपालिकाले पुरानो सम्पदाहरुको पुनःनिर्माण्मा पुरानै शैली र प्रविधि अपनाइरहेको बताउनुभयो । उहाँले पोखरीहरुको महत्वबारे प्रस्ट पार्नुहुँदै पुर्खाले सिर्जेका कला–कृतिहरु नयाँ पुस्ताको लागि अमूल्य सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।
पुराना मौलिक प्रविधि वैज्ञानिक भएको बताउनुहुँदै उहाँले नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्मित सबै सम्पदा तथा विकास निर्माण कार्यहरु उपभोक्ता समितिहरुमार्फत् कम लागतमा गुणस्तरीय निर्माण भइरहेको बताउनुभयो ।
वर्तमान समयमा डेंगु रोगको महामारी फैलिरहेको बताउनुहुुँदै सरसफाइमा बढी ध्यान दिन र समुदाय नै सचेत हुनुपर्ने बताउनुहँदै प्रमुख प्रजापतिले विषादीयुक्त खानेकुराका कारण नसर्ने रोगको जोखिम पनि बढिरहेको बताउनुभयो । उहाँले नजिकिँदै गरेको नेमकिपाको सातौं महाधिवेशनमा सहभागिताको निम्ति आह्वान गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्तिलाई अब प्रविधिसँग जोड्दै लानुपर्ने र हाम्रो सम्पदाहरु पानी र संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । पुर्खाले विकास गरेको प्रविधिको महत्वबारे उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले जनताको साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरको विकास सम्भव भएको बताउनुहुँदै २०७२ सालको भूकम्पबाट पुरिएको जेंला पोखरीको पुनःनिर्माण निकै कम लागतमा पुनःनिर्माण सकिएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिलाई वडाध्यक्ष महेन्द्र खायमलीले पुखुचाको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेमकिपा वडा नं. ८ का इन्चार्ज कृष्णप्रसाद कोजु, अनुगमन समितिका संयोजक एवम् वडा सदस्य शिवप्रसाद बाला, अनुगमन समिति सदस्य शिवराम बोहजु र जेंला पोखरी उपभोक्ता समितिका अध्यक्ष पुण्यराम बोहजु र सुनिल बोहजुले पनि बोल्नुभएको थियो ।
जेंला पोखरी पुनःनिर्माणको लागत इस्टिमेट १४ लाख बराबरको थियो भने करिब १० लाख ४ हजारको लागतमा पुनःनिर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।









