Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका अवलोकनमा टोखा नगरपालिकाका जनप्रतिनिधिहरू

भक्तपुर । २०७६ भदौ ३ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार टोखा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको फोहरमैला व्यवस्थापन र विकास निर्माणका कार्यहरुबारे जानकारी गराउनुभयो ।

भक्तपुर नगरलाई सरसफाइको उत्कृष्ट नगर बनाउन नगरको १० वटै वडामा ट्राइसाइकलमार्फत् कुहिने र नकुहिने फोहर संकलन गर्दै आएको र फोहर व्यवस्थापनको दीर्घकालीन समाधानको लागि विशेषज्ञ टोली गठन गरी सरसफाइ कार्यलाई थप व्यवस्थित गर्ने कार्य भइरहेको अवगत गराउनुभयो ।

उहाँले भक्तपुरका प्रसिद्ध जात्राहरूलाई शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन गर्न भक्तपुर नगरपालिकाले प्रहरी प्रशासनसँग समन्वय गरी अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर नगरको सुरक्षा र सरसफाइ गतिविधिहरु सीसीटीभीमार्फत् निगरानी भइरहेको जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाले युवा र महिला लक्षित विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

उपप्रमुख रजनी जोशीले शारीरिक एवम् बौद्धिक अपांगता भएका नगरबासीहरुलाई अपांगतासम्बन्धी परिचयपत्र वितरण गर्ने कार्य भइरहेको बताउनुहुँदै भक्तपुरको ऐतिहासिक रानी पोखरीमा सर्वसाधारण जनताको पहुँच बढाउन नेपाली सेनासँग सहकार्य भइरहेको बताउनुभयो ।

टोखा नपाका उपप्रमुख डंगोलले टोखा नगरपालिकाको मुख्य आम्दानीको स्रोत सम्पत्ति कर, बहाल र व्यवसाय कर भएको बताउनुहुँदै फोहरमैला व्यवस्थापन चुनौतीको विषय भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले नगरको फोहर व्यवस्थापनमा गरेका कार्यहरुबाट टोखा नपाले पनि सिक्न चाहेको जिकिर गर्नुहुँदै उहाँले टोखामा अनियमित घर निर्माण गर्नेहरु धेरै भएको र जनतालाई करको दायरामा ल्याउने प्रयासमा रहेको बताउनुभयो ।

भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, टोखा नपा ९ वडाका वडाध्यक्ष जेपी नेपाल, कार्यपालिका सदस्यहरु कल्पना घिमिरे, लीता भुुजेल, उर्मिला बि.क., पार्वती अधिकारी, शोभा तामाङ र बनस्थली कलेजका प्राचार्य टंक चापागाइ पनि सहभागि हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.