Explore news and happenings at Bhaktapur

सरकारको व्यवहार संविधान र कानुनसम्मत छैन ः प्रमुख प्रजापति

भक्तपुर, २०७६ साउन १७ गते, शुक्रबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शुक्रबार आर्थिक वर्ष २०७५-७६ मा भक्तपुर नपा वडा नं. १० मा भए-गरेका कार्यहरुको प्रगति विवरण वडाबासीहरुलाई जानकारी दिने कार्यक्रम सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माण कार्यबारे अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले सांस्कृतिक नगरको सुन्दरता कायम गर्न नगरपालिकाले सरसफाइ र सम्पदा संरक्षणलाई महŒव दिइरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले समायोजनमा खटाइएका कर्मचारीहरूलाई स्थानीय तहले हाजिर नगराएमा अनुदान रोक्का गर्ने, बैंक खाता रोक्ने जस्ता धम्की संघ सरकारको व्यवहार संविधान र कानुनसम्मत नभएको बताउनुभयो ।

नगरपालिकाका नीति नियमहरु नगरबासीहरुकै हितमै बन्ने गरेको र जनताको बीचबाट आएका सुझावहरुलाई नगरपालिकाले रचनात्मक ढंगले आत्मसात गर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले नक्सा पासबमोजिम पुरानो शैलीमा घर तथा भवन निर्माण गर्न उत्साहित गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडा नं. १० को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आगामी आ.व. २०७६-७७ को लागि ५० लाख बजेट विनियोजन भएको जानकारी गराउनुभयो । उहाँले वडाको विभिन्न विकास निर्माण कार्यमा उपभोक्ता समितिमा बसी सहयोग गर्न नगरबासीमाझ आह्वान गर्नुभयो ।

पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले आफ्नो अनुभवहरु सुनाउनुहुँदै अस्वस्थ खानपान र मिसावट भएका खानेकुरा सेवनका कारण विभिन्न रोगको जोखिम बढिरहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यद्वय ज्ञानकुमार मगजु र जितेन्द्र मुनंकर्मी, वडा सचिव गोविन्दराम थुसाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.