रेडियो प्रस्तोता तालिम समापन तथा फोटोग्राफी तालिम सुरु
भक्तपुर, २०७६ असार १२ गते विहीबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेठ २६ गतेदेखि सञ्चालन भएको रेडियो प्रस्तोता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । त्यस्तै विहीबारनै प्रमुख प्रजापतिले नपाद्वारा प्रदान गरिने १० दिने आधारभूत फोटोग्राफी तालिमको पनि पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले समाजलाई अनुशासित र व्यवस्थित ढंगले अगाडि बढाउन युवा पुस्तालाई सीप दिने उद्देश्यले नगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै तालिमले रोजगारीकाे अवसर सृजना गर्नुका साथसाथै व्यक्तित्व विकासमा मद्दत पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्तामा व्यापक दृष्टिकोणको आवश्यकता औंल्याउनुहुँदै प्रमाणपत्रले मात्र नपुग्ने हुँदा सीप विकास गरी समाजमा आ–आफ्नो तहबाट योगदान गर्नुपर्ने बताउनुभयाे । उहाँले नगरपालिकाले वर्षैभरी निरन्तर विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै नगरपालिकाका गतिविधि र कार्यक्रमहरु विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै आएकोे जानकारी गराउनुभयाे । हाल नगरपालिकाले ख्वप एफ.एम र ख्वप टेलिभिजन सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
“फोटो समाजको ऐना हो र फोटोले इतिहास बोकेको हुन्छ ” भन्नुहुँदै प्रमुख प्रजापतिले फोटोग्राफी तालिमका सहभागीहरुले आ–आफ्नो क्षेत्रबाट समाजका विकृति विसंगतिलाई हटाउन प्रयत्नशील रहनुपर्ने र आजको विभेदपूर्ण समाजलाई परिवर्तन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । विभिन्न समयमा भएको समाज परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुहुँदै उहाँले सँस्कृतिक सम्पदा संरक्षणमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । भक्तपुर नगरपालिकाले आ.व. २०७६/७७ को बजेटमा पनि शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुहुँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्न अनुमति नदिनुमा सरकारमा गएका ठूला राजनीतिक दलहरुको पक्षापातपूर्ण र पूर्वाग्रही सोच रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले घोषणापत्रमा उल्लेख भएका कार्यहरु एक–एक गर्दै पूरा गर्दै आएको बताउनुहुँदै ख्वप विश्वविद्यालय विधेयक पारित भएमा मेडिकल कलेज सञ्चालन गर्न पनि नपा सक्षम रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै ९ नं. का वडाध्यक्ष रविन्द्र ज्याख्वले विश्व सम्पदा सूचिमा रहेको काठमाडौं उपत्यकालाई युनेस्कोले खतराको सूचिमा राखेकोमा चिन्ता व्यक्त गर्नुहुँदै भक्तपुर नगरपालिकामा प्राकृतिक स्रोतको अभाव रहेको र साँस्कृतिक सम्पदाले नगरको पहिचान बोकेको हुँदा यसलाई जोगाई राख्ने जिम्मा युवा पुस्ताको काँधमा आएको बताउनुभयो । नगरबासीको जीवनस्तर उकास्न प्रयासरत रहेको बताउनुहुँदै युवा पुस्तालाई सभ्य र सुसँस्कृति बनाउने तथा शिक्षालाई उत्पादन श्रमसँग जोड्दै लाने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गर्दै जानुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा रेडियो प्रस्तोता तालिमका मुख्य प्रशिक्षक प्रकाश सायमीले तालिम सकिंदैमा सीप हासिल नहुने हुँदा यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो भने फोटोग्राफी तालिमका प्रशिक्षक शरद राईले फोटोग्राफी तालिमका साथसाथै फोटोग्राफी सम्बन्धी साहित्यलाई पनि जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र रेडियो प्रस्तोता तालिमका सहभागी शम्भु राजभण्डारीले पनि बोल्नुभएको थियो ।









