Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १३ करोड १० लाख

भक्तपुर, २०७६ असार १० मंगलबार ।

0

आर्थिक वर्ष २०७६/७७ का लागि भक्तपुर नगरपालिकाले २ अर्ब १३ करोड १० लाख रुपैंयाको बजेट पेश गरेको छ ।

              नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको पाँचौ नगरसभामा उपप्रमुख रजनी जोशीले बजेट पेश गर्नुभएको हो । कूल बजेट ४६.८३ प्रतिशत चालु खर्चतर्फ र ५३.१७ प्रतिशत पूँजीगत खर्चतर्फ विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिनुभयो ।

                नगरसभामा प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई ३० करोड ७३ लाख ९६ हजार विनियोजन गरिएको छ जुन कुल बजेटको १४.४२ प्रतिशत हो । नगरपालिकाले आगमी आ.व.मा नगरको कुनै एक सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा संचालन गर्ने र सोही बमोजिम बजेट विनियोजन गरिएको छ । त्यस्तै सामुदायिक विद्यालयहरुमा कार्यरत वालविकास सहजकर्ता (इसीडी शिक्षक)हरुलाई नगरपालिकाको आफ्नै स्रोतबाट व्यहोर्ने गरी प्रति व्यक्ति मासिक रु ४०००।– थप पारिश्रमिक दिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्रका लागि २५ करोड ५४ लाख ६२ हजार रुपैंया विनियोजन गरिएको छ । नगरपालिकाको आफ्नै अस्पताल ख्वप अस्पताल निर्माण कार्यलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको स्रोतले बताएको छ । त्यस्तै घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने तथा विद्यालय तहमा विस्तार गर्ने र च्याम्हासिंहमा निर्माणाधीन छाती पुनःस्थापना केन्द्र आगमी आ.व.मा निर्माण सम्पन्न गरिसक्ने उल्लेख छ ।

भक्तपुर नगरलाई आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्सव आयोजना गर्ने र त्यसका लागि १ करोड रुपैंया विनियोजन गरिएको छ ।

भक्तपुरका परम्परागत साँस्कृतिक विधाहरुलाई जीबन्त बनाउन तथा साँस्कृतिकर्मी कलाकारहरुलाई जीवन जिउने आधारको रुपमा विकास गर्न साँस्कृतिक प्रदर्शनी केन्द्र संचालन गर्ने तयारीसहित बजेट विनियेजन गरिएको छ ।

नगरबासीहरुको खानेपानी समस्या न्यूनीकरण गर्न नगरपालिकाको तर्फबाट पहल गर्ने र नगरका ठाउँ ठाउँमा भूमिगत पानीको स्रोत पहिचान गरी खानेपानीको व्यवस्था एवं खानेपानीको पाइप सुधारको लागि ३ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक स्तर राम्रो भएका जेहेन्दार एवं मेधावी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हिसावले नगरपालिकाले शैक्षिक ऋण कोषको व्यवस्था गरेको छ । नयाँ आ.व.का लागि नगरपालिकाले उक्त कोषमा ४ कारेड ९९ लाख ९० हजार रकम विनियोजन गरेको छ ।

मंगलबार नगरसभामा पेश गरेको बजेटमा नगरको सम्पदा संरक्षण र विकास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ ।

विश्व सम्पदा सूचिमा रहेको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्वार आगामी वर्ष गर्ने तयारीसहित बजेट विनियोजन गरिएको छ । प्रसिद्ध भैरवनाथ मन्दिर पुनःनिर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ भने भैरब मन्दिरको प्रवेशद्वार एवं बेतद्योछें पुनःनिर्माण समेत गर्ने तयारी भइरहेको नगरपालिका स्रोतले बताएको छ ।

भनपा–१ स्थित ऐतिहासिक भाज्या पोखरी र पोखरीको मध्य भागमा अवस्थित जलेश्वर मन्दिरलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न बजेट विनियोजन गरिएको छ । त्यस्तै सैनिक विद्यालय परिसरभित्र रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको रानीपोखरी पुनःनिर्माण कार्यलाई निरन्तरता दिने बजेटमा उल्लेख छ । उक्त पोखरी सर्वसाधारण जनताको लागि खुला गर्ने र पोखरीको दक्षिणतिर पार्क तथा पार्किङको व्यवस्था गर्ने सहमति नगरपालिका र नेपाली सेनाबीच भएको थियो ।

भनपा–२ स्थित औद्योगिक क्षेत्रलाई साना तथा घरेलु उद्योगमा आधारित वातावरणमैत्री तथा पर्यटकीय केन्द्र बनाउन पहल गर्ने योजना बजेटमा उल्लेख छ । त्यस्तै दरबार क्षेत्र परिसरमा जनज्योति पुस्तकालय रहेको पुरानो भवनलाई स्तरोन्नती गरी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कोसेली पसः बनाउने कार्यक्रम सहित बजेट विनियोजन गरिएको छ ।

बजेटमा खेलमैदान सुधार, व्यवस्थित कभर्ड हल तथा खेल मैदान निर्माण, बालोद्यान निर्माण र वडा वडामा शारीरिक व्यायाम स्थल विस्तार तथा व्यवस्थापन गर्ने उल्लेख छ ।

आगामी वर्ष नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुका लागि आदर निकेतन संचालन गर्न अलग्गै बजेटको व्यवस्था गरिएको छ ।

किसानहरुको उत्पादनर्ला व्यवस्थित रुपमा सुपथ मूल्यमा विक्री वितरण गर्न तथा उपभोक्ता हितमा व्यवस्थित तरकारी बजार निर्माण गर्ने समेत बजेटमा उल्लेख छ ।

नगरपालिकाले आधुनिक सुविधा सम्पन्न अरनिको सभाभावनको विस्तृत डिजाइन तथा लागत इष्टिमेट गरिसकेको अवस्था नयाँ आ.व.मा सभाभवन निर्माण कार्यलाई अगाडि बढाउन बजेटको व्यवस्था गरिएको छ ।

नगरको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन मुख्य चोक, गल्ली, सडक र सम्पदा क्षेत्रमा सी.सी. क्यामेरा र रात्रीकालीन बत्तीको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

बजेटको मुख्य आकर्षण

                                                          आय तर्फ       वाह्य स्रोत  –     १ अर्ब २२ करोड २४ लाख

                 आन्तरिक स्रोत –  ६२ करोड

व्यय तर्फ    चालु तर्फ  – ९९ करोड ८० लाख

पूँजिगत तर्फ  – १ अर्ब १३ करोड ३० लाख

खर्च विनियोजनः

  • शिक्षाका लागि ३० करोड ७३ लाख ९६ हजार (१४.४२ प्रतिशत)
  • स्वास्थ्यको लागि २५ करोड ५४ लाख ६२ हजार (११.९९ प्रतिशत)
  • सम्पदा संरक्षण तथा विकास निर्माणको लागि ७२ करोड ९१ लाख १० हजार (२४.२१ प्रतिशत)
  • युवा तथा खेलकुदको लागि ५ करोड ५७ लाख
  • पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार
  • भक्तपुर महोत्सवका लागि १ करोड
  • फोहर मैला व्यवस्थापन तथा वातावरण सुधारका लागि १३ करोड ५७ लाख ५० हजार
  • नगरभित्रका सामुदायिक विद्यालयहरुमा वालविकास सहजकर्ता (इसीडी शिक्षक) हरुको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रति महिना रु.४०००।– का दरले नगरपालिकाको आप्mनै स्रोतबा६ व्यहोर्ने बन्दोबस्त गरिएको छ ।
  • साँस्कृतिक प्रबर्द्धनका लागि २ करोड ३० लाख
  • खानेपानी व्यवस्थापन तथा पाइप सुधारका लागि ३ करोड ८१ लाख
  • कृषि तथा पशु सेवाको लागि १ करोड ६४ लाख
  • जग्गा तथा भवन खरिदको लागि ५ करोड ५० लाख
  • देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका लागि २५ करोड
  • सवारी साधन खरिदका लागि ८० लाख
  • मेशिनरी औजार खरिदका लागि २ करोड
  • पूंजीगत अनुसन्धान तथा परामर्शका लागि २० लाख
  • शैक्षिक ऋण कोषका लागि ४ करोड ९९ लाख ९० हजार

सम्पदा संरक्षणका महत्वपूर्ण योजनाहरुः

  • रानी पोखरी संरक्षण तथा पार्क निर्माण– १ करोड
  • श्री भैरवनाथ मन्दिर संरक्षण कार्य – ६० लाख
  • भाज्या पोखरी जलेश्वर मन्दिर निर्माण –१ करोड ९ लाख ३२ हजार ५ सय ८५ रुपैया दुई पैसा
  • पुरानो नपा भवन (थंथु दरबार) पुनःनिर्माण कार्य (दरबार स्क्वायर)– १ करोड
  • न्यातापोल मन्दिर मर्मत कार्य – ५० लाख
  • नरसिंह मन्दिर पुनः निर्माण कार्य – ५० लाख

विकास निर्माणका महत्वपूर्ण योजनाहरु

  • ख्वप अस्पताल– २० करोड
  • सिद्धपोखरी उत्तर तर्फको खेलमैदान ब्यवस्थापन – ७७ लाख
  • आकाशे पानी संकलन कार्य – २६ लाख
  • औद्योगिक क्षेत्रभित्र सांस्कृतिक केन्द्र निर्माण – ६० लाख
  • अरनिको सभा भवन – १ करोड
  • आदर निकेतन सन्चालन कार्य – ५० लाख
  • सडक पीच – एक करोड ७९ लाख
  • पार्किङ स्थल निर्माण कार्य – ५० लाख
  • महेश्वरी खेल मैदान –एक करोड ५० लाख
  • शहिद स्मृति खेल मैदान –एक करोड
  • सांस्कृतिक संग्रहालय –५० लाख
  • कोसेली घर – २५ लाख
  • पशु बधशाला– ५० लाख

मंगलबार बसेको पाँचौ नगरसभामा उपप्रमुख जोशीले वार्षिक बजेट पेश गरेपछि सभाध्यक्ष एवं नगर प्रमुख प्रजापतिले असार १३ गतेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.