Explore news and happenings at Bhaktapur

समसामयिक राजनीतिबारे कार्यकर्ता भेला

भक्तपुर, २०७६, असार ६ गते, शुक्रबार

0

“गुठी जग्गाको संरक्षण नेपाल सरकारले गर्न सकिरहेको छैन र गरिरहेको पनि छैन । सरकारमा गएका दलका नेताहरूकै मिलेमतोमा मठाधीश र कर्मचारीहरूले बदमासी गरेको हुँदा गुठी जग्गा र मठहरुको जिम्मा स्थानीय तहलाई दिनुपर्छ ।”

उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार आयोजित समसामयिक राजनीतिबारे कार्यकर्ता भेलामा व्यक्त गर्नुभएको हो ।

भेलामा अध्यक्ष रोहितले २०२१ सालको भूमिसुधारले बहुमत किसानको जीवनस्तर वृद्धि गरेको र त्यसले साधारण व्यापारीलाई समेत फाइदा भएको उल्लेख गर्दै मोही किसानको जीवन स्तर वृद्धि गर्न उनीहरूलाई भूमिमाथिको अधिकारदेखि वञ्चित गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुठी संस्थानले जस्तै प्राधिकरणले पनि सबै काम गर्न नसक्ने अवस्था सृजना हुन नदिन जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई गुठी जग्गा संरक्षण, व्यवस्थापन र स्थानीय जात्रा पर्व सञ्चालनको जिम्मेवारी दिनुपर्छ । जोताहा किसानको हित हुने, मोहियानी हक र आफूले जोतेको जग्गा रैतानी गर्न पाउने गरी ल्याइएको विधेयक केही मठाधीशको कुरा सुनेर फिर्ता लिनु गलत छ ।”

भक्तपुर सल्लाघारीस्थित नेपाल ट्रष्टको नाउँमा रहेको जग्गा भक्तपुरका किसानहरूकै भएकोले सरकारले नगरपालिकालाई उपलब्ध गराई जनताको हितमा उपयोग गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले गणतन्त्रवादी भन्नेहरूले मठाधीशका कुरा सुनेर गुठी विधेयक फिर्ता गर्नु सामन्तवादको सेवा हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “खोना र बोङाका किसानहरूको समस्याबारे एक शब्द नबोल्ने, उल्टो किसानको हितमा आएको विधेयकको विरूद्ध लाग्नेहरू सम्पदापे्रमी हुनैसक्दैनन् ।”

“व्यापारीहरूको कुरा सुनेर ख्वप विश्वविद्यालयको विधेयक नल्याएजस्तै जोताहालाई मोहियानी हक र रैतानीका अधिकार दिनुपर्ला भनी मठाधीशहरूको कुरा सुनेर गुठी विधेयक फिर्ता लिनु नालायकीपन हो”, केन्द्रीय सदस्य प्रजापतिले स्पष्ट पार्नुभयो ।

सङ्घीय राज्य भनेर कराउनेहरूको मानसिकता काठमाडौँकेन्द्रित भएको हुँदा देशको विकास हुन नसकेको चर्चा गर्दै उहा“ले स्थानीय सरकारलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार संविधानले तोके पनि सबै अधिकार केन्द्रमा निहित गर्न खोज्नु गलत भएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजुको सभापतित्वमा भएको सो भेलामा जिल्ला सदस्यहरू पाण्डव सुवाल, मिनबहादुर वाटा, प्राध्यापक समाज नेपालका सुजन माक, सुनिल दुवाल, कानुन अध्ययन समाजका सदस्य अनिता जधारीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.