Explore news and happenings at Bhaktapur

संघीय संसदीय टोलीद्वारा भनपा प्रमुखसँग भेट

२०७६ जेष्ठ १४ गते मंगलबार ।

0

प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संस्कृति, सम्पदा अनुगमन उपसमितिका संयोजक माननीय सुजिता शाक्यको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्‍यो ।

भेटमा प्रमुख प्रजापतिले भक्तपुरका ऐतिहासिक र साँस्कृतिक सम्पदाहरु मौलिक शैली र सीपमा उपभोक्ता समितिमार्फत स्थानीय जनशक्ति परिचालन गरी संरक्षण गरिरहेको बताउनुभयो । उहाँले अमूर्त सम्पदा संरक्षणार्थ विभिन्न साँस्कृतिक बाजागाजा र नाचगानको प्रतिस्पर्धा र प्रतियोगिता सञ्चालन गरी आर्थिक र भौतिक सहयोग प्रदान गर्दै अगाडि बढिरहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, सँस्कृति र ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यका साथ शिशु स्याहारदेखि ७ वटा कलेजहरु सञ्चालन गरिरहेको र सरकारबाट अनुमति प्राप्त भएपछि विश्वविद्यालय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न घर घरमा नर्सिङ्ग सेवा, ३ वटा जनस्वास्थ्य केन्द्र, १ वटा आँखा अस्पताल सञ्चालन गरिरहेको जानकारी गराउनुहुँदै १०० शैंयाको ख्वप अस्पताल निर्माण भइरहेको अवगत गराउनुभयो ।

उहाँले २०७२ सालको विनाशकारी भूकम्पबाट भक्तपुर नगरक्षेत्रमा ११५ वटा सम्पदाहरुमा पूर्ण रुपमा क्षति पुगेकोमा ८३ वटा सम्पदाहरु पुननिर्माण भैसकेको र ३२ वटा सम्पदाहरु निर्माणाधीन रहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षण र विकास निर्माणको लागि विदेशीको सहयोगलाई भन्दा सरकारमार्पmतनै स्थानीय तहहरुलाई आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, सम्पदा अनुगमन उपसमितिका संयोजक शाक्यले काठमाण्डौ उपत्यकाका विश्‍व सम्पदा क्षेत्रहरुको अनुगमनको क्रममा विभिन्न स्थानहरुमा अस्तव्यस्त रहेको जानकारी गराउनुहुँदै भक्तपुर नगर क्षेत्रमा व्यवस्थित ढंगले श्रोत र साधनको उचित प्रयोग गरी पुनःनिर्माण भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले साँस्कृतिक सम्पदा संरक्षणको लागि संसदीय उपसमितिबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको भेटमा उपसमितिका सदस्यहरु माननीय बोधमाया यादव र सरला यादव, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, ९ नं.वडाध्यक्ष रविन्द्र ज्याख्व, स्मारक संरक्षण दरबार हेरचाह अड्डा, भक्तपुरका प्रमुख मोहनसिं लामा र क्रान्ति विक्रम कायष्ठको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.