भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति सिद्धपोखरी उत्तरतर्फको खेलमैदानको स्थलगत निरीक्षणमा
भक्तपुर । २०७६ साल जेठ ९ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाअध्यक्षहरु रबिन्द्र ज्याख्व, श्यामकृष्ण खत्री, प्रेमगोपाल कर्माचार्य र महेन्द्र खायमलीलगायतले बिहीबर भक्तपुर नपा वडा नं. १ स्थित सिद्धपोखरी उत्तरतर्फको खेलमैदान र भाज्या पोखरीको स्थलगत निरीक्षण गर्नुभयो ।
भक्तपुर नपा र नेपाली सेनाबीच विभिन्न चरणमा भएको छलफलपश्चात सो स्थान स्थानीयको लागि खेलकुद प्रयोजनको लागि खुला गर्ने विषयमा सहमति भइसकेको छ ।
सिद्धपोखरी उत्तरतर्फको खेलमैदान चारैतिर जालीबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वारको व्यवस्था गरी उक्त खेल मैदान स्थानीयको लागि हरेक दिन बिहान ७ः३० बजेदेखि ११ः३० बजेसम्म ४ घण्टाको लागि खुला गर्ने र शनिबारको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला हुने भएको छ ।
सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थीहरु बिदामा रहेका दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म उक्त खेलमैदान स्थानीको लागि खुला गरिने भएको छ ।
उक्त स्थलगत निरीक्षणमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवाल, भक्तपुर नपा श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवाललगायतको उपस्थिति रहेको थियो ।










