Explore news and happenings at Bhaktapur

भनपा प्रमुख प्रजापतिसँग ललितपुर मनपाका प्रतिनिधिमण्डलको भेट

भक्तपुर, २०७६ जेठ ८ गते, बुधबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ललितपुर महानगरपालिका वडा नं. ५ का वडा सदस्य अशोककुमार श्रेष्ठको नेतृत्वमा आएका पाटन लगनखेलस्थित न्हुँपुखु पुनःनिर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले भेट गर्‍यो । भेटमा प्रमुख प्रजापतिले अतिथिहरुलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाले भनपा १ स्थित भाज्या पोखरी ऐतिहासिक र प्राविधिक अध्ययन अनुसन्धान गरी उत्खनन्बाट भेटिएका अवशेषहरुको आधारमा पोखरीको बीचको मन्दिरको डिजाईन गरी पुनःनिर्माण कार्य अगाडि बढाइरहेको जानकारी गराउनुभयो । पोखरी जिर्णाेद्धारको क्रममा पानी चुहिने समस्या समाधान गर्न पोखरीको छेउमा पाँच फिट गहिराइको खाल्टो खनी काली माटी भरेर उपभोक्ता समितिमार्फत मालिकता जोगिने गरी कार्य गरिरहेको बताउनुभयो । उहा“ले सम्पदा संरक्षण र विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत गर्दा अपनत्व कायम हुने, स्थानीयलाई रोजगारको अवसर सिर्जना हुने र मौलिकता संरक्षण हुने बताउनुभयो ।

उहाँले भक्तपुरको मौलिकता संरक्षण गर्न २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुमध्ये ८३ वटा सम्पदाहरु परम्परागत सीप र शैलीमा पुनःनिर्माण सकी सकेको र ३२ वटा सम्पदाहरु पुनःनिर्माण भइरहेको बताउँदै निजी आवासीय घरहरु परम्परागत शैलीमा निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग हुने काठ, ईटा र झिंगतीको लागतको ३५ प्रतिशत अनुदान दिइरहेको जानकारी दिनुभयो ।

उहाँले नगरको आवश्यकताअनुसार विभिन्न नयाँ संरचनाहरु पनि परम्परागत स्वरुपमै निर्माण भइरहेको जानकारी दिनुहुँदै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु स्थानीय जनताको सल्लाह र सुझावअनुसार अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

उहाँले पाटनका न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरुलाई पुनःनिर्माण कार्य गर्दा मौलिक स्वरुप कायम गर्न, उपभोक्ता समितिमार्फतै पुनःनिर्माण गर्न, आर्थिक अनुशासन, पारदर्शीता र इमानदारिता कायम हुने गरी समितिबाट निर्णय गरेर मात्र कार्य अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

भेटमा भनपाका उपप्रमुख रजनी जोशीले भनपाले सम्पदा संरक्षण कार्य अध्ययन अनुसन्धान र अन्वयसन गरेर सम्बन्धित सबै विज्ञहरुको सल्लाह र सहमतिमा गरिरहेको जानकारी गराउनुभयो ।

भेटमा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरुले भक्तपुर नगरपालिकाको सिद्धपोखरी र भाज्या पोखरीलगायतका पोखरीहरुको संरक्षणको अनुभवबाट सिक्न चाहेको बताउनुहुँदै भनपा प्रमुखज्यूलगायत सबैको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

भेटमा भक्तपुर नगरपालिका वडा नं. १ र ७ का वडाध्यक्षहरु क्रमशः श्यामकृष्ण खत्री र उकेश कवां तथा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरु सतिरा नारायण जोशी, विभूषण विस्ट, तारकसिहं बस्नेत, डा. विजयकृष्ण श्रेष्ठ, रामकृष्ण महर्जन, मणिरत्न शाक्य एवम् भाज्या पोखरी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरुको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.