Explore news and happenings at Bhaktapur

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्‌घाटन

२०७६ जेठ १ गते, बुधबार

0

प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पतालमा बुधबार मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री दुलालले जनताको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा प्रदेश सरकारले कुनै कञ्जुस्याइ“ नगरी पर्याप्त बजेट व्यवस्था गर्ने र आगामी वर्षहरूमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो मातहतमा रहेका ८ वटा अस्पताललाई गुणस्तरीय स्वास्थ्य प्रवाह गर्ने अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

अस्पताल स्वस्थ भए मात्र त्यहाँबाट प्रवाह हुने स्वास्थ्य सेवा पनि प्रभावकारी हुने बताउनुहुँदै मन्त्री दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सरकारी अस्पताल र सरकारको कार्यक्षमताको पनि परीक्षण भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश सरकारको ३५ अर्ब बजेटमा ६ अर्ब पनि खर्च नहुनुमा आश्चर्य व्यक्त गर्नुहुँदै उक्त बजेटको ४–५ करोड रुपैयाँ भक्तपुर अस्पताल र नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधारको लागि राख्नु उचित हुने बताउनुभयो ।

प्रमुख प्रजापतिले केन्द्र र प्रदेश सरकारको नीतिको कार्यान्वयन स्थानीय तहले गर्नु प्रभावकारी हुनेमा जोड दिनुहुँदै भक्तपुर अस्पतालले विगतका तुलना बिरामीहरूको विश्वास जित्न सफल भएको बताउनुभयो ।

प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले संघ र प्रदेश नीति निर्माण गर्ने थलो भएको र यसको कार्यान्वयन स्थानीय तहले गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्र र प्रदेश सरकारले सबै काम तथा अधिकार आफैमा सीमित गर्न खोज्दा स्थानीय तहहरूमा असमझदारी बढ्न सक्ने उहाँले बताउनुभयो ।

भक्तपुर अस्पताललाई आधुनिक साधनहरुले सम्पन्न बनाउँदै लानुपर्छ भन्नुहुँदै प्रमुख प्रजापतिले सरकारी अस्पतालमा राम्रो उपचार हुन सके निजी अस्पताल तथा नर्सिङ होमहरू घट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारी अस्पतालहरू गरिब जनताको सेवाको निम्ति खोलिएको हो । इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले काम गर्न सके बढी भन्दा बढी गरिब जनताको सेवा गर्न सकिनेछ ।’

भक्तपुर नगरपालिकाले घर–घरमा नर्सिङ सेवा सुरु गरेको जानकारी दिंनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाभित्रका ३ वटा जनस्वास्थ्य केन्द्रमार्फत् जनताको सेवा गरिरहेको र यसै वर्षदेखि भक्तपुरमै आँखाको शल्यक्रिय पनि सुरु गरिसकेको बताउनुभयो । उहाँले ख्वप अस्पतालको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको जानकारी पनि गराउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले स्वागत गर्नु भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सामाजिक सुरक्षा कार्यक्रमका सम्पर्क व्यक्ति कुमारप्रसाद दाहालले विश्वमा नसर्ने रोगले धेरैको ज्यान गइरहेको जानकारी दिनुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.