Explore news and happenings at Bhaktapur

सहयोगको नाउँमा हस्तक्षेप हुनेप्रति सचेत हुनुपर्ने

भक्तपुर, २०७६, वैशाख ११ गते, बुधबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका अध्यक्ष र लेखा समितिका संयोजकहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साम्राज्यवादी मुलुकहरूले आर्थिक सहयोगको नाममा विभिन्न अनुचित शर्तहरू लगाई विकासोन्मुख मुलुकहरूको सार्वभौमिकता माथि खुला हस्तक्षेप गर्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले स्थानीय स्रोत र साधन परिचालन गर्दै स्थानीय मौलिक उत्पादन प्रवद्र्धन गर्नको लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरको मौलिक काष्ठकला, चित्रकला, मुकुन्डो कला, मृतिकाकलालगायत अन्य विविध कलाहरू र सीपसम्बन्धी तालिम सञ्चालन गरी नगरवासीहरूमा रोजगारीको अवसर सिर्जना गर्न सहकारी संस्थाहरूले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
निजीकरणको बाटोले समाजवादमा पुग्न नसक्ने धारणा प्रस्तुत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नेपालमा नवउदारवाद आक्रामक रुपमा प्रस्तुत भइरहेको बताउनुभयो ।

आर्थिक अनुशासन, पारदर्शीता, निक्षेप संकलन र ऋण प्रवाहमा नियमितता अत्यन्त जरुरी रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले वित्तीय क्षमताअनुसार सहकारीहरूले सामाजिक कल्याण र स्थानीय विकासको लागि समेत लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले गरिब जनताको जीवन उत्थानको निम्ति सहयोगी संस्थाको रुपमा भूमिका खेल्नुपर्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाको लक्ष्य प्राप्तिमा सहकारी संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सहकारी साझा हितको निम्ति हुनुपर्नेमा जोड दिनुभयो भने वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले सहकारी संस्थाले देशको आर्थिक, सामाजिक क्षेत्रको सुधारको लागि आवश्यक भएको बताउनुहुँदै आर्थिक अनुशासन कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाका मूलभूत सिद्धान्तबारे प्रस्ट पार्दै सहकारी संस्थाको मूल्यमान्यता अँगाल्दै पारदर्शी ढंगले कार्य सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.