Explore news and happenings at Bhaktapur

नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम

भक्तपुर । २०७५ चैत २८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने विचार व्यक्त गर्नुहुँदै शासक दलहरू भारतको निर्देशनमा चलिरहेको आरोप लगाउनुभयो ।

शिक्षकहरूको व्यापक दृष्टिकोणले शिक्षामा न्याय हुने प्रसंग कोट्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले विद्यालयहरूमा स्थानीय पाठ्यक्रमअनुसार अध्ययन–अध्यापनले २१ औं शताब्दीको निम्ति योग्य पुस्ता तयार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई भूगोल र इतिहास अध्ययनमा जोड दिएर पढाउनुका साथै स्थानीय बाजा, कला–संस्कृति, नाचगान, खेलकुदलगायतको अध्ययनमा जोड दिंदै व्यापक दृष्टिकोणको विकास गराउनु आवश्यक भएको बताउनुभयो ।

विद्यार्थीलाई विभिन्न जिल्लाको भ्रमण, अध्ययन र त्यहाँको विशेषताबारे जानकार गराउँदै राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक विषयमा अन्तरक्रिया तथा छलफलमार्फत विद्यार्थीको सैद्धान्तिक स्तर उकास्न शिक्षक–शिक्षिकाहरूले भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

विद्यालय तथा कलेजका पाठ्यपुस्तक समय–समयमा फेरिने हुँदा पाठ्यपुस्तकबाहेक अन्य पुस्तकहरू अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले नयाँ तथ्य तथ्याड्ढबारे अद्यावधिक रहनुपर्ने बताउनुभयो ।

नेमकिपाका सचिव तथा संघीय सांसद प्रेम सुवालले नेपालको शिक्षा ऐनबारे चर्चा गर्नुहुँदै देशको सन्तुलित विकासको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यालयहरूले नैतिक र वैज्ञानिक शिक्षामा जोड दिनुका साथै सबैलाई समान शिक्षा र व्यक्तित्व विकासमा समान अवसरको आवश्यकता रहेको सांसद सुवालले प्रस्ट पार्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सार्वजनिक विद्यालय तथा कलेजलाई राज्यले प्राथमिकता दिई संरक्षण गरे निजी कलेजहरूमा आकर्षण घट्ने विचार प्रस्तुत गर्नुभयो । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरवासीलाई मात्र नभई देशभरिका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा दिई देशको लागि आवश्यक योग्य नागरिक तयार गरिरहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नयाँ पुस्तालाई देशको कला–संस्कृति, रीतिरिवाज, चाडबाडबारे थाहा दिन स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयहरूले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी अधिकारी, नगर शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्य र शिक्षाविद् सिद्धिबीर शाक्यले स्थानीय पाठ्यक्रमको आवश्यकता र विशेषताबारे प्रस्ट पार्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिक्षक तालिमका विभिन्न विषयमा सहजकर्ता भूमिका निर्वाह गर्ने शिक्षकहरूलाई कदर पत्र प्रदान गर्नुभयो । सांसद सुवालले तालिममा सहभागी शिक्षक–शिक्षकाहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.