Explore news and happenings at Bhaktapur

बिस्का जात्रासम्बन्धी जनचेतना सभा

भक्तपुर, २०७५ चैत २६ गते, मंगलबार

0

भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा चैत २६ गते दत्तात्रयमा बिस्का जात्रासम्बन्धी जनचेतना सभा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्राले बिस्का जात्रा हेर्न भक्तपुरबासी मात्र नभई देशका विभिन्न स्थानबाट तथा विभिन्न देशबाट समेत पर्यटकहरू प्रशस्त आउने हुँदा यस्तो महत्वपूर्ण जात्रालाई अझ सभ्य, भब्य, शान्तिपूर्वक एवं मर्यादित ढंगले मनाउनु हामी सबैको कर्तब्य भएको बताउनुभयो ।

भैरवनाथको रथ दिनको २ बजे विधिपूर्वक तान्न शुरु गरी साँझ ६ बजेसम्ममा निर्धारित स्थानमा विसर्जन गर्न सके जात्रा शान्तिपूर्ण र व्यवस्थित रुपले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरको पुरानो शैली कायम गर्न नगरवासीमाझ मौलिक घर निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भैरवनाथको रथ पूर्वमा बढीमा बुलुबुलु हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म मात्र लग्न, भैरवनाथको रथमा गुठी नाइके, पूजारी, चौगुठीलगायत तोकिएका व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न, जात्रा स्थलमा मादक तथा लागू पदार्थ सेवन गरी अभद्र व्यवहार नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायब निरीक्षक रत्नबहादुर थापाले जात्रामा गैरकानुनी गतिविधि गरी कारबाहीमा नपर्न अनुरोध गर्दै जात्रास्थलमा भएको अराजक क्रियाकलाप र समस्या भए प्रहरीलाई खबर गरी जिम्मेवार नागरिकको परिचय दिन आग्रह दिनुभयो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.