Explore news and happenings at Bhaktapur

व्यक्तिलाई भन्दा समाजलाई अगाडि बढाउनुपर्ने

भक्तपुर, २०७५ चैत २५ गते, सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई किताबी ज्ञान सँगसँगै देशको भूगोल, कला–संस्कृति, इतिहास र राजनीतिक ज्ञान पनि दिनु आवश्यक भएको बताउनुहुँदै विद्यालयहरुले व्यक्तिलाई भन्दा पनि सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने र समाजलाई अगाडि बढाउने उद्देश्यले अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

समाज सुधार माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सामुदायिक विद्यालयहरुले समयअनुसार शैक्षिक स्तर वृद्धि गर्नुपर्ने र विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै योग्य विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो – ‘भक्तपुर नगरपालिकाले न्यून ब्याजदरमा रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था र इतिहास, भूगोल, राजनीतिशास्त्रलगायत विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।’

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले सार्वजनिक विद्यालयहरुले शैक्षिक गुणस्तर, विद्यार्थीको सैद्धान्तिक स्तर र व्यक्तित्व विकास गर्न शिक्षक–शिक्षिकाहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले घोकन्त्ते शिक्षाले विद्यार्थीको प्रगति नहुने बताउनुहुँदै शिक्षा राम्रो भए समाजको विकास छिटो हुने बताउनुभयो । शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाले उल्लेखनीय कार्यहरु गरिरहेको चर्चा गर्दै उहाँले भक्तपुर नगरभित्रका विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई विषयगत तालिमहरु सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सेवा निवृत्त शिक्षक राम प्रजापति र शिक्षक जगन्नाथ प्रजापतिले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीनारायण दुवालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले समाज सुधार माविका सेवा निवृत्त शिक्षकद्वय राम प्रजापति र सुरेन्द्रमान वासिंछ्याकलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै एसईई परीक्षा २०७४ का उत्तीर्ण विद्यार्थीहरुलाई पदक वितरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.