Explore news and happenings at Bhaktapur

स्थानीय पथ प्रदर्शक पुनर्ताजगी तालिमको समापन कार्यक्रम

२०७५ चैत १५ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजलाई अगाडि बढाउन देशको राजनीति बुझ्नुपर्ने, अन्याय र गलत कामको विरुद्ध लड्नुलाई सचेत नागरिकको कर्तव्य भएको बताउनुभयो ।

शुक्रबार भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १५ गतेसम्म सम्पन्न स्थानीय पथ प्रदर्शक पुनर्ताजगी तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले प्रमाणपत्रको मूल्याङ्कन पर्यटकहरूले गर्ने हुँदा पर्यटकहरूलाई सत्य–तथ्य जानकारी दिनुपर्ने र आफूसँग भएको ज्ञानलाई प्रभावकारी ढंगले उपयोग गर्नुपर्ने बताउनुभयो ।

पथप्रदर्शकहरूले विभिन्न भाषामा दख्खल राखी पर्यटकमाझ राम्रो व्यवहार प्रदर्शन गरी आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले व्यक्तिगत सोचबाट मुक्त भई सामूहिक भावनाले समाजको हित हुने र समाजलाई अगाडि बढाउने कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सफल पथ प्रदर्शक हुन व्यवहारिक र नैतिक ज्ञानको पनि आवश्यकता भएको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथ प्रदर्शकहरूले भक्तपुरका मूर्त–अमूर्त सम्पदाबारे पर्यटकहरूलाई सही सूचना प्रवाह गर्नुपर्ने र आफूसँग भएको ज्ञान र सीपको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सही सूचना प्रवाहले भक्तपुरको गरिमा बढ्ने र पर्यटकलाई आकर्षण गर्ने बताउनुभयो ।

पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पर्यटकहरूमा गलत सूचना प्रवाह हुनेमा सजग हुनुपर्ने र भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न तालिमले उपयोगी भूमिका खेल्ने बताउनुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पर्यटकहरूलाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र भक्तपुरको कला–संस्कृतिक उजागर गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

वातावरण तथा पर्यटन समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमुख प्रजापतिले कदर पत्र र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी रामेश्वर न्यौपानेले तालिमबाट प्राप्त भएको अनुभव सुनाउनुभयो । कार्यक्रममा भ.प.वि.सका दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.