Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिसँग काठमाडौंको रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका प्रतिनिधि मण्डलको भेट

भक्तपुर, २०७५ चैत्र १४ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ महानगरपालिकाका वडा अध्यक्षहरु र रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले भेट गर्नुभयो । भेटमा प्रमुख प्रजापतिले काठमाडौ‌को रानीपाेखरी पुननिर्माणको लागि आवश्यक दक्ष जनशक्ति, परम्परागत सीप र परम्परागत निर्माण सामाग्री लगायतका आवश्यक सहयाेग गर्न भक्तपुर नगरपालिका तयार रहेकाे बताउनुहुँदै देशकै सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले सक्दो सहयाेग गर्दै आएको बताउनुभयो । उहाँले सशर्त आउने विदेशी सहयोगलाई भन्दा स्थानीय तहहरुले आम्दानीका स्रोतहरु बढाउँदै आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । २०७२ सालको विनाशकारी भूकम्पपछि पुननिर्माणको लागि जर्मन सरकारको के.एफ.डब्लू.ले विभिन्न शर्तहरु सहितको सहयोग सम्बन्धमा राखिएका शर्तहरु नगर र नगरवासीको हीतमा नभएकोले सहयोग स्वीकार गर्न नसकेको स्मरण गर्नुभयो ।


भेटमा प्रमुख प्रजापतिले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिइरहेको बताउनुहुँदै शिशु स्याहारहरु र विभिन्न कलेजहरु संचालन गरिरहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई भक्तपुरको मौलिक कला संस्कृति, इतिहास, भूगोल, स्थानीय परम्परागत खेलकुद, उत्पादन तथा यहाँका विशिष्ट व्यक्तित्वहरु र सहिदहरुको जानकारी दिने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम तयार गरी अध्यापन गरिरहेको बताउनुभयो । उहाँले गत वर्षदेखि कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन भक्तपुर नगर शिक्षा समितिमार्पmत् गरिरहेको जानकारी गराउनुहुँदै जनस्वास्थ्य सञ्चालन गर्दै ख्वप अस्पताल निर्माण कार्य शुरु गरेको बताउनुभयो ।
उहाँले विकास निर्माण र सम्पदा संरक्षण कार्य स्थानीय उपभोक्ता समिति र अमानतबाट भैरहेको जानकारी गराउनुहुँदै यसबाट रोजगारको अवसर सृजना भएको र निर्माण भएका संरचनाहरुमा स्थानीय जनताहरुको अपनत्व कायम भएको बताउनुभयो । उहाँले निर्वाचनको बेलामा नेपाल मजदुर किसान पार्टीको घोषणापत्र मार्फत् व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा प्रत्येक वर्ष साँस्कृतिक प्रतियोगिता र अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।
प्रतिनिधि मण्डलले भेटमा काठमाडौंको रानीपोखरी पुननिर्माणको लागि भक्तपुर नगरपालिकाबाट आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराइ सहयोग गरिदिनु हुन आग्रह गर्दैै भनपाले परम्परागत शैलीमा गरेको भाज्यापोखरी पुननिर्माण कार्यको स्थलगत निरीक्षणको लागि आएको बताउनुभयो ।

भेटमा काठमाडौं महानगरपालिकाका वडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, २७ का वडाध्यक्ष चिनिया बज्राचार्य र २८ का वडाध्यक्ष भाइराम खत्री र भनपाका वडा नं. १,७, ८, ९ का वडाध्यक्षहरु क्रमशः श्यामकृष्ण खत्री, उकेश कवां, महेन्द्र खायमली र रविन्द्र ज्याख्व तथा काठमाडौं रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.