Explore news and happenings at Bhaktapur

नियमित स्वास्थ्य जाच गराऔं – प्रमुख प्रजापति

२०७५ फागुन २५ गते, शनिबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सस्तो, गुणस्तरीय स्वास्थ्य सेवा दिन भक्तपुरको च्याह्मासिंहसँगै ख्वप अस्पतालको निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुहुँदै जनताको सेवामा केन्द्रित भई नगरपालिकाले विभिन्न गतिविधिहरूलाई अगाडि सारेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ६ को महिला स्वास्थ्य कार्यकर्ता एवम् नर्स परिचालन समितिको आयोजनामा शनिबार आयोजित सुगर, प्रेसर र मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा भएका कमी–कमजोरीहरूबारे औंल्याइदिन आग्रह गर्नुभयो ।

स्वास्थ्य शिविर सञ्चालनले भक्तपुरका जनताको स्वास्थ्य स्थिति पहिचान गरी समयमै औषधिउपचार गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । मिठो भन्दा पनि पौष्टिक भएको खाना खानुपर्ने, समय–समयमा स्वास्थ्य जाँच गर्ने र रोगअनुसारको उपचार समयमै गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नपाको सबै वडामा विभिन्न किसिमका स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेको जानकारी दिनुहुँदै नगरवासीको स्वास्थ्य स्थिति पहिचान र त्यसको उचित उपचार नै शिविर सञ्चालनको उद्देश्य रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य गोविन्द दुवालले स्वस्थ जीवनशैली र नियमित व्यायाम आजको आवश्यकता भएको औंल्याउँदै भक्तपुर नगरपालिकाले व्यक्तिगत हितभन्दा पनि सामूहिक र समाजको सेवामा केन्द्रित भएर काम गरिरहेको चर्चा गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवाल, वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.