Explore news and happenings at Bhaktapur

कर्मचारी समाजमा लासिवा

भक्तपुर, ४ फागुन ।

0

नेपाल कर्मचारी समाजको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले समाजवादी विचारको प्रचारलाई व्यापकता दिन नसके समाजमा पुँजीवादी विचार फैलिने विचार राख्नुभयो ।

आफ्नो व्यक्तिगत हितमात्र हेर्ने र व्यक्तिगत स्वार्थलाई मात्र प्राथमिकता दिने विचार पूँजीवादी विचार र सार्वजिक हित गर्ने विचार समाजवादी विचार भएको बताउँदै उहाँले निजी क्षेत्रले नाफाको लागि सरकारी निकायलाई असफल बनाउने प्रयास गरिरहने स्पष्ट पार्नुभयो ।

पुँजीवादी सरकारमा जाने कम्युनिष्टहरू पुँजीवादी भ्रष्टाचारमा डुब्ने गरेको प्रस·माथि प्रकाश पार्दैै उहाँले निजीकरणको विरोध गर्दै समाजवादी विचारको प्रचार गर्न आवश्यक भएको विचार राख्नुभयो । सत्तामा गएका पुँजीवादी राजनीतिक दलले देशको सार्वजनिक सम्पत्ति निजीकरण गरेर भारतीय एकाधिकार पु“जीकै सेवा गरेको उहाँको भनाइ थियो ।

“समाजवादी सरकार र पुँजीवादी सरकारबीचको मुख्य भिन्नता भनेको समाजवादी सरकारले व्यापक जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गर्छ भने पुँजीवादी सरकारले व्यापक जनताकै शोषण गर्ने गर्छ ।”, अध्यक्ष रोहितले भन्नुभयो ।
सिद्धान्त र विचार व्यापक जनताले नबुझी क्रान्ति नहुने धारणा राख्दै नेमकिपाले लगातार जनतालाई सचेत बनाउने र समाजवादी विचारबारे प्रशिक्षित बनाउने कार्य जारी राख्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेंले संसद सदस्यलाई निवृत्तिभरणको व्यवस्था गर्ने प्रस्ताव जनताको भावनाविपरीत भएको बताउनुभयो । पैसा र नाफाको लागि राजनीति गर्ने त्यो विचार पुँजीवादी विचार भएको उहाँको भनाइ थियो ।

नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपालकै नदी नालाबाट निकालिएको विद्युत् भारतलाई सस्तोमा बेचेर भारतबाट महँगोबाट विद्युत् किनेर सरकारले ‘लोडसेडिङ अन्त्य’ गरेको प्रस्ट पार्नुभयो ।

उहाँले सरकारले कम लागतमा बन्न सक्ने विद्युत आयोजना निजी क्षेत्रलाई बेचेर कमिसन खाएको र त्यसले देशलाई घाटा भएको धारणा राख्नुभयो । कर्मचारीहरू विभिन्न विकृतिबाट जोगिनुपर्नेमा जोड दिंदै काफ्लेले देशभक्तिपूर्ण र न्यायपूर्ण सिद्धान्तबारे कर्मचारी जानकार र सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

नेमकिपाका अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले ओली सरकारले व्यापक जनताको हितमा काम गर्नु सट्टा आफ्ना आसेपासेहरूलाई सहुलियत दिने काममा लागेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेमकिपाले स्थानीय तहको निर्वाचनमा जारी गरेको घोषणा पत्रअनुसार नै व्यापक जनताको हितमा जनप्रतिनिधिहरू निःस्वार्थ रुपमा काम गरिरहेको बताउनुभयो ।

सम्मेलन उद्घाटन कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगी, पत्रकार समाजका अध्यक्ष लक्ष्मणराज जोशी, कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापति, सहकारी समाज नेपालका अध्यक्ष केदार खड्का, इन्जिनियर समाज नेपालका उपाध्यक्ष नरेश खत्री, अर्थशास्त्री समाज नेपालका अध्यक्ष मुरज दिदीया, नेमकिपा काठमाडौं जिल्ला समितिका सचिव राजवीर डंगोललगायतले सम्मेलन सफलताको कामना व्यक्त गर्नुभयो ।

नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको कार्यक्रममा केसेन्द्रबहादुर कार्की, शिवराम धुख्वा, जर्मा शाहीलगायतका कर्मचारीहरू पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

सम्मेलनअन्तर्गत बन्द बैठकमा नेमकिपाका सचिव प्रेम सुवालले प्रशिक्षण दिनुभयो ।

उहाँले संसदमा प्रस्तुत कर्मचारी समायोजना विधेयकबारे सहभागी प्रतिनिधि पर्यवेक्षकलाई जानकारी दिनुभयो । उहाँले सरकारद्वारा प्रस्तावित विधेयकमा सङ्घअन्तर्गत ४७ हजार कर्मचारी राखी प्रदेशमा २२ हजार मात्र कर्मचारी खटाउनु सङ्घीयताको भावनाविपरीत भएको बताउनुभयो ।

सचिव सुवालले देशमा भ्रष्टाचार बढ्नु प्रधानमन्त्री र सत्तासीन दल नै जिम्मेवार भएको बताउँदै कर्मचारी संयन्त्रबाट हुने बदमासीको जिम्मेवारी शासक दलले नै लिनुपर्ने विचार राख्नुभयो ।

बन्द बैठकमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले हिन्द–प्रशान्त क्षेत्रको अवधारणा र अमेरिकी साम्राज्यवादी चलखेल, मजदुर दैनिकका प्रकाश थुसाले भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माकले कम्युनिष्ट घोषणापत्र, कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारीले मुलुकी संहिता ऐनबारे प्रशिक्षण दिनुभयो ।

नेपाल कर्मचारी समाजको दोस्रो राष्ट्रिय सम्मेलनबाट गौतमप्रसाद लासिवाको अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको उपस्थितिमा दोस्रो राष्ट्रिय सम्मेलनबाट चुनिएका केन्द्रीय समितिका पदाधिकारीहरूको पहिलो बैठक शनिबार भक्तपुरमा सम्पन्न भयो ।

सचिव सुवालले समाजका सदस्यहरुले पार्टी प्रकाशनहरु नियमित अध्ययन गरी अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

“नेमकिपाको सिद्धान्त र विचारमा आस्थावान रही पार्टी कार्यक्रममा समर्पित रहेकाहरूलाई मात्र समाजको सदस्य वितरण गर्नुपर्छ, कर्मचारीहरूले प्रकाशनलाई निरन्तरता दिनुपर्छ ।” उहाँले भन्नुभयो ।

सरकारमा गएका राजनीतिक दलले गल्ती गर्दा देशलाई घाटा भएको चर्चा गर्दै सचिव सुवालले सरकारमा गएका पार्टीहरूले देश र जनताको अहितमा काम गरेकोले देशको हरेक क्षेत्र नाजुक अवस्थामा रहेको बताउनुभयो ।

समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.