Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको प्रतिनिधिमण्डल विराटनगर महानगरपालिकामा

0

विराटनगर, माघ १५ गते, मंगलबार ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख मीरा कार्कीसँग महानगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो।

भेटमा प्रमुख प्रजापतिले स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो।
भक्तपुर नगरपालिकाको पुरानो बस्तीमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई अघिल्लो मोहडामा इँटा र काठमा लाग्ने कुल खर्चको ३५ प्रतिशत अनुदान नगरपालिकाले दिंदै आएको प्रमुख प्रजापतिले बताउनुभयो।

भक्तपुर नगर नेपालकै सानो र प्राचीन नगर भएको स्मरण गराउँदै नगरपालिकाको मुख्य आयस्रोत पर्यटन भएको र पर्यटन विकासमा विशेष जोड दिइरहेको बताउनुभयो।

उहाँले भक्तपुर नपाले कलेजको स्वामित्वमा कलेजहरू सञ्चालन गरी देशभरिका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको बताउनुहुँदै नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य रहेको बताउनुभयो । भक्तपुर नपाअन्तर्गत २५ शैय्याको ख्वप अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउनुभयो ।

भेटमा विराटनगर महानपाका प्रमुख भीम पराजुलीले महानपा विकास निर्माणमा खरिद ऐनलाई टेकेर अगाडि बढिरहेको, सरकारी विद्यालय स्तरोन्नति गर्न पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना रहेको, अपांगमैत्री नमुना विद्यालय बनाउने उद्देश्य रहेको र महानपाको तेस्रो नगरसभा सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

उक्त भेटमा भक्तपुर नपाका वडाअध्यक्षद्वय श्यामकृष्ण खत्री, राजकृष्ण गोरा, ख्वप इ. कलेजका उपप्राचार्य रविन्द्र फोंजु, नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजु, बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाअध्यक्षहरु र वडा सदस्यलगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.