Explore news and happenings at Bhaktapur

नगरसभाबाट शैक्षिक ऋण दिनेसम्बन्धीमा बनेको निर्देशिका पारित

0

भक्तपुर, २०७५ माघ ३ गते, बिहीबार ।

भक्तपुर नगरपालिकाको जारी चौथो नगरसभाको बिहीबार बसेको बैठकले भक्तपुर नगरपालिकामा स्थायी बसोबास गर्ने गरिब, जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. ५ लाख सम्म शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित ग¥यो ।

सभामा सभाअध्यक्ष सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ तयारी गरेको बताउनुहुँदै ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था गरेको बताउनुभयो ।

सभामा निर्देशिकासम्बन्धी छलफल कार्यक्रममा भाग लिंदै सभासद्हरु जितेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पुर्णगोपाल राजचल, श्यामसुन्दर मातां, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौंदेखि नगरमा बसोबास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेेलगायतका सुझावहरु दिनुभएको थियो ।

सभासद्हरुले उठाउनुभएका जिज्ञासालाई विधायन समितिका संयोजक हरिराम सुवालले परिवार संख्या कम हुने विद्यार्थीलाई समेत सम्बोधन गर्न ‘सम्भव भएसम्म’ भन्ने उल्लेख भएको, नगरपालिकाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुलउपर गर्दा विद्यार्थीलाई सजिलो हुने बताउनुभयो ।

बैठकको सुरुमा सभाअध्यक्ष प्रजापतिले विशेष समयको व्यवस्था गरी विशेष समयमा नगरसभासद्हरु सिद्धिराम अवाल, राजेन्द्र माक, बलराम न्हिसुतु, सुर्यप्रसाद श्रेष्ठ, हरिरत्न गोर्खाली, जितेन्द्र मुनंकर्मी, गंगालक्ष्मी बमनु, पूर्णगोपाल राजचल, राजकुमार शिल्पकार, सम्झना खाइजु, श्यामसुन्दर मातां, शिवप्रसाद वाला, गोविन्द दुवाललगायतले भक्तपुर नगरपालिका र वडा कार्यालयहरुको विभिन्न विषयहरुबारे बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.