Explore news and happenings at Bhaktapur

राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सुरु

0

२०७५ पुस २५ गते, मंगलबार
‘अनुशासन मित्रता र जागरुकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा बुधबार सहिद स्मृति खेलमैदानमा राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिताको प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखी राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो । भक्तपुर नपाले आफ्नो क्षमताले भ्याएसम्म खेलकुद क्षेत्रको प्रबर्द्धनको निम्ति काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खेलकुद क्षेत्रमा ब्याप्त भ्रष्टाचार र अनियमिताका कारण राम्रा खेलाडीहरू ओझेलमा परिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले खेलकुद क्षेत्रलाई संविधानको मौलिक हकमा समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न खेलहरूको प्रशिक्षण तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुहुँदै खेलाडीहरूले अनुशासित र सभ्य ढंगले खेल खेल्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा अतिक्रमण हुनबाट रोक्न भक्तपुर नपाले ९८ लाखको बजेटमा पर्खाल निर्माण कार्य अगाडि बढाएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष संगीता हमालले खेल मर्यादित र अनुशासित भइ खेल्नुपर्ने र खेलमार्फत् देशको सेवा गर्न प्रेरित गर्नुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाअध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले नगरवासीको निम्ति आत्मरक्षाको तालिम सञ्चालन गरेको र प्रतियोगिता सभ्य ढंगले अगाडि बढाउन हौसला प्रदान गर्नुुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाअध्यक्ष कुमार चवाल, वडा सदस्य पशुपति प्रजापति, राजेन्द्र माक र अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले पनि आ—आफ्नो विचार राख्नुभएको थियो । प्रतियोगितालाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न रेफ्रिका प्रतिनिधि बलराम राजचल र खेलाडीका प्रतिनिधि नीतु गुरुङले सपथ लिनुभएको थियो ।

२०७५ पुस २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा भक्तपुर, कैलाली, नवलपरासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नवलपुरका गरी ६ वटा टीमहरूले सहभागिता जनाएको आयोजक समितिले जानकारी गराएको छ ।

कार्यक्रमको उद्घाटन र्याली बाजागाजासहित भक्तपुरको टौमढीबाट सुरु भइ सहिदस्मृति खेलमैदानमा पुगेर समापन भएको थियो । उद्घाटन र्यालीमा भक्तपुर नपाका प्रमुख, जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि र शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.