हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सम्पन्न भयो । सोही क्रममा भक्तपुर नगरपालिकाको आयोजनामा ‘प्रविधिको सही प्रयोग गरौं ः लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम आज भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिलाहरुलाई आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रुपले अगाडि बढाउन सके मात्र व्यवहारमा समानता आउने बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले राजनैतिक रुपमा महिलाहरुको सहभागितामा वृद्धि हुने उहाँले बताउनुभयो ।
राज्यले पछाडि परेका वर्ग र समुदायलाई शासन प्रणलीमा समावेश गर्न आरक्षणको व्यवस्था गरेको बताउँदै उहाँले आरक्षणको व्यवस्थाले प्रतिस्पर्धाको भावनामा कमी आउन सक्ने र योग्यहरु ओझेलमा पर्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा मात्र ५९ प्रतिशत छात्राहरु अध्ययरत रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले नतिजामा पनि छात्राहरुको प्रदर्शन उत्कृष्ट रहेको बताउनुभयो । समाजवादी व्यवस्थामा महिलाहरुले व्यक्तित्व विकासमा समान अवसर पाउने बताउँदै उहाँले शिक्षामा अगाडि बढेको देशले छिटो विकास गर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको बताउँदै महिलाहरु सक्षम, आत्मनिर्भर र सचेत भए हिंसा न्युनीकरण पनि हुने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले व्यक्तिगत जीवनलाई आवश्यक भन्दा पनि सार्वजनिक गर्न आवश्यक भएको बताउँदै सूचना र प्रविधिको गलत प्रयोगले ठूलो घटना घट्ने बताउनुभयो । ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले लैंगिक हिंसाका काननुी पक्षबारे प्रसतुतीकरण दिनुभयो ।
आइटी इन्जिनियर नरेश खत्रीले प्रविधिमार्फत पनि विभिन्न हिंसा हुन सक्नेतर्फ सचेत पार्दै आईटीको प्रयोगबाट समाजमा पर्न सक्ने सकारात्मक र नकारात्मक प्रभावबारे जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैंया सुवाल, ७ नं. वडाका वडा सदस्य हेरा ख्याजु र कार्यपालिका सदस्य छोरीमैंया सुवालले पनि बोल्नुभएको थियो ।
