नगर प्रमुख प्रजापतिद्वारा नगर स्तरीय लोक नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण
भक्तपुर । २०८२ कार्तिक ३०
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्य समिति भक्तपुरको आयोजनामा सम्पन्न नगर स्तरीय लोक नृत्यु प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो । प्रतियोगितामा सुर्योदय इ. स्कूल प्रथम, माउन्ट भ्याली इ. स्कूल द्वितीय, लिटिल वल्र्ड स्कूल तृतीय र साइनिङ स्टुडेन्ट चौथो भएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले समाजको संस्कृति, परम्परा र भावना झल्किने गरी लोक नृत्य प्रतियोगिता आयोजनाले सांस्कृतिक नगर भक्तपुरको उचाइ अझ बढेको बताउनुभयो ।
विभिन्न जातजाति र भौगोलिक क्षेत्रका मौलिक लोक नृत्यहरुको संरक्षण र प्रवद्र्धनको दायित्व हामी स्वयम्को हो भन्दै उहाँले नेपालका पुराना परम्परा, कला संस्कृति लोप हुन नदिन नयाँ पुस्तामाझ यस्ता गतिविधिहरु गर्दै लानुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले स्थानीय पाठ्यक्रममार्फत विद्यार्थीहरुलाई भक्तपुरको कला संस्कृति, भाषा, चाडपर्व आदि विषय अध्ययन अध्यापन गराउँदै आएको बताउँदै विद्यार्थीहरुले आफ्नो शिक्षा र संस्कृतिलाई सँगसँगै अगाडि बढाउने प्रयासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्य समिति भक्तपुरका अध्यक्ष शिवकुमार कोजुले प्रतियोगितामा १७ वटा विद्यालयहरुले भाग लिएको बताउँदै नेपालको संस्कृति विश्वमाझ चम्काउने काम नेपालको लोक नृत्यहरुबाट हुने बताउनुभयो ।
प्याब्सन भक्तपुर जिल्ला उपाध्यक्ष विजय कर्माचार्यले भक्तपुर प्याब्सनले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा विशेष प्राथमिकतामा राख्दै वार्षिक ३० वटा भन्दा बढी अतिरिक्त क्रियाकलापहरु गर्दै आएको बताउँदै यस किसिमको प्रतियोगिता विद्यार्थीहरुमा भएको प्रतिभा प्रदर्शन गर्ने अवसर पनि हो भन्नुभयो ।
उक्त कार्यक्रममा निर्णायकहरुले आफ्नो धारणा राख्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिलगायत अतिथिहरुले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।


