नगर प्रमुख प्रजापति र लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीबीच भेट
सिरहा, २०८२ कार्तिक २३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीबीच आज लहान नपामा भेट भयो । नगर प्रमुख प्रजापतिसहितको टोलीलाई प्रमुख चौधरीले खादा ओढाई नपामा स्वागत गर्नुभएको थियो ।
भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित कलेज र नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक विशेषताबारे प्रष्ट पानुभयो । शिक्षा र स्वास्थ्यलाई नपाले विशेष प्राथमिकता दिएको बताउँदै पर्यटन क्षेत्रको प्रवद्र्धनले नगरलाईे उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन मद्दत पुर्याएको बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिकाको जे.एस मुररका बहुमुखी क्याम्पस लहानको नमुना कलेजको रुपमा रहेको बताउँदै भक्तपुर नपाबट सञ्चालित कलेजहरुमा छिटै अध्ययन भ्रमणको लागि आउने तयारी रहेको बताउनुभयो ।
घरभाडा, व्यवसाय कर, पोखरी, जग्गा, खोला, हाट बजार आदिबाट लहान नपा कर संकलन गर्दै आएको बताउँदै उहाँले जेनजी आन्दोलनबाट नपामा ठूलो क्षति पुगेको बताउनुभयो ।
लहान नपा २४ वटामा विभाजित रहेको र जनसंख्या १ लाख १० हजारको हाराहारीमा रहेको अवगत गराउँदै उहाँले धार्मिक पर्यटन प्रवद्र्धनमा नपाले जोड दिइरहेको बताउनुभयो ।
उक्त भेटघाटमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोज साह, , नेमकिपा सिरहा जिल्ला अध्यक्ष विजय महतो, लहान नपा वडा नं. ४ का वडाध्यक्ष, भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाललगायतको उपस्थिति थियो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले प्रमुख चौधरीलाई भनपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
