नगर प्रमुख प्रजापति र कमलामाई नगरपालिकाका उपप्रमुख देवकोटाबीच भेट
सिन्धुली । २०८२ कार्तिक १७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिन्धुलीको कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाबीच आज कमलामाई नपामा भेट भयो । भेटमा उहाँहरुबीच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत विविध बिषयमा अनुभव आदानप्रदान भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायत जनताका आधारभूत आवश्यकताहरुलाई प्राथमिकतामा राखेर काम गदैै आएको प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले नगरपालिकाले नगरबासी विद्यार्थीहरुलाई शैक्षिक ऋण र छात्रवृत्ति जस्ता सुविधा प्रदान गरी गरिब परिवारका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताउनुभयो ।प्रमुख प्रजापतिले भक्तपुर पर्यटकीय र सांस्कृतिक नगर पनि भएको उल्लेख गर्दै नपाले पर्यटनलक्षित विविध गतिविधि गर्नुका साथै युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउन पनि सहयोग गर्दै आएको बताउनुभयो ।
साथै उहाँले नगरपालिकाहरु पूर्ण स्वायत्त हुनुपर्ने र सक्षम नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न सरकारले सहयोग गर्नु पर्ने बताउँदै भक्तपुर नपाले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्यले ख्वप विश्वविद्यालय सञ्चालनको प्रयाश गरिरहेको बताउनुभयो ।
कमलामाई नपाका उपप्रमुख मन्जु देवकोटाले सीमित स्रोतसाधन बीचमा पनि कमलामाईले नगर विकासका असीमित आवश्यकताहरुलाई पुरा गर्ने प्रयत्न गर्दै आएको बताउँदै कमलामाई नपाको जनसंख्या, भौगोलिक विकटता आदिबारे जानकारी दिँदै सिन्धुलीको कमलामाई मन्दिर यहाँको प्रसिद्ध मन्दिरको रुपमा रहेको बताउनुभयो ।
स्थानीय सरकारलाई केन्द्रले नियन्त्रण गर्दा स्थानीय तहले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न नसकिरहेको बताउँदै उहाँले कमलामाईले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताउनुभयो ।
उहाँले कृषि र पशुलाई पनि जोड दिँदै किसानहरुलाई विना व्याज र धिता रु. ५ लाखसम्म ऋण प्रदान गर्दै आएको बताउँदै सुुत्केरीलाई निःशुल्क् एम्बुलेन्सको व्यवस्था पनि नपाले गरेको बताउनुभयो ।
सिन्धुलीमा ऐलानी र पर्ति जग्गाहरु धेरै छन् भन्दै उहाँले नगरको पूर्वाधार विकासलाई व्यवस्थित बनाउँदै नयाँ नयाँ कार्यक्रमहरु अगाडि सार्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य रोशनमैंया सुवाल, सिन्धुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकाल, कानुन अधिकृतलगायत शाखा प्रमुखहरुको उपस्थिति थियो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले उपप्रमुख देवकोटालाई भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
