सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु (छात्रा) को लागि आत्मरक्षा तालिम सञ्चालन
भक्तपुर । २०८२ कार्तिक १६
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै समूह र वर्गलाई आत्मरक्षा तालिमको उत्तिकै आवश्यक भएको बताउँदै भक्तपुर नपाले छात्राहरुलाई लक्षित गर्दै १० वडा विद्यालयहरुमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम सञ्चालनलाई जोड दिएको बताउनुभयो ।
भक्तपुर नगरभित्रका सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु (छात्रा) को लागि आत्मरक्षा तालिमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले महिलाहरुलाई सुरक्षित रहन यो तालिमको आवश्यकता रहेको बताउँदै भक्तपुर नपाले खेलकुदमार्फत युवाहरुलाई सक्रिय बनाउन विविध खेलकुद गतिविधि आयोजना गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरपालिकाले आयोजना गर्ने खेलकुद प्रतियोगितामा नगरभित्रका ९२ वटै विद्यालयहरुलाई सहभागी गराउन प्रयत्न गरिरहेको बताउँदै समाज राम्रो बनाउन नयाँ पुस्तालाई राम्रो बनाउनुपर्ने अवधारणाले नपाले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले १० वटै वडामा क्रमशः आत्मरक्षा तालिम सञ्चालन गर्ने नीति लिएको बताउँदै यसले छात्राहरुलाई आफू सुरक्षित रहन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, खेलकुद समितिका सदस्य सुनिता प्रजापति र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो ।
नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुयालले पनि तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।


