‘इमानदार, सचेत र पेसाप्रति प्रतिबद्ध फोटोग्राफरहरू सङ्कटदेखि भाग्दैनन्’
भक्तपुर । आश्विन २५, २०८२
२५ असोज । “फोटो ग्राफरहरू निर्भिक र निडर हुनुपर्छ । फोटोले सरकारमा बसेकालाई सडकमा र सडकमा बसेकालाई सरकारमा पुर्याउन सक्ने तागत राख्छ ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले फोटा ग्राफर समाजको आयोजनामा शनिबार भएको भेलामा व्यक्त गर्नुभएको हो ।
उहाँले इजरायलले प्यालेस्टिनमाथि आक्रमण गरेको हरके घटनाबारे विश्वलाई देखाउने सयौँ पत्रकारहरूको हत्या गरिएको प्रसङ्ग उल्लेख गर्दै इमानदार, सचेत र पेसाप्रति प्रतिबद्ध फोटोग्राफरहरू सङ्कटदेखि भाग्दैनन् भन्नुभयो ।
वर्तमान राजनीति अवस्थाबारे चर्चा गर्दै भन्नुभयो, “भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले सरकार र संसद् विघटन गर्दा नयाँ परिस्थिति उत्पन्न भयो । अहिले देश अन्योलको भूमरीमा फसेको छ । राजनीति विचार र सिद्धान्तको आधारमा हुनुपर्छ ।”