इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’ को उद्घाटन
भक्तपुर । असोज २५, २०८२ शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’ को एक समारोहबीच रिबन काटेर उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले ३ दशक अघि महिलाहरुले धिमे, धाँ जस्ता बाजा बजाउन त के छुन समेत नहुने भन्ने परम्परागत चलनविरुद्ध संघर्ष गरेर महिलाहरुलाई धिमेलगायतका बाजा बजाउन उत्साहित गर्नु क्रान्तिकारी कदम हो भन्नुभयो ।
उहाँले सामान्य परिवारमा जन्मेका इन्दिराको जीवनमा आधारित फिल्म बनाएर इन्दिरा र उहाँको परिवारको मात्र होइन भक्तपुरको गौरव बढाएको चर्चा गर्दै ‘धिमे मैंचा’ फिल्मले भक्तपुरको सांस्कृतिक सम्पदाहरुबारे समेत विश्वभर फैलाउने आशा व्यक्त गर्नुभयो । उहाँले फिल्म सफलताका लागि निर्माता, कलाकार सबैका लागि शुभकामना व्यक्त गर्नुभयो र देशका विभिन्न ठाउँका जनता र विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई फिल्म हेरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले इन्दिरा लाछिमस्यूलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई मुख्य निर्माता गोपालकृष्ण महर्जनले स्वागत तथा निर्माता सुरेन्द्र तुलाधरले फिल्म निर्माणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
