Explore news and happenings at Bhaktapur

“शाननान र नेपाल आपसमा हिमाल र नदीद्वारा जोडिएका छन्”

आश्विन १९, २०८२

0

(भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच २०८२ असोज ४ गते सम्पन्न भगिनी सम्झौता नवीकरण समारोहमा शाननान नगरपालिका पर्यटन तथा संस्कृति व्युरो प्रमुख चेन शिङ्गपी (Chen Xingbi) को मन्तव्यको सम्पादित अंश) शाननान प्रसिद्ध यालोङ त्साङ्पो नदीको किनारामा रहेको ऐतिहासिक गाङ्दिसे पर्वतको दक्षिणमा अवस्थित सहर हो । यो सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) को राजधानी ल्हासाको सबैभन्दा नजिकको प्रिफेक्चरस्तरीय सहर हो ।

शाननानलाई ‘तिब्बती जातिको उत्पत्तिस्थल’ र ‘तिब्बती सभ्यताको स्रोत’ पनि भनिन्छ । तिब्बती जातिको जन्म दिव्य बाँदर र राक्षसी केटीको मिलनबाट भएको लोककथन छ । सभ्यताको लामो इतिहासले एक पृथक र आकर्षक यालोङ संस्कृतिको जन्म दिएको छ । पहिलो तिब्बती राजा न्यात्रि त्सेन्पो (Nyatri Tsenpo) को शासनकालदेखि लिएर तेतिसौँ तिब्बती राजा सोङ्गचङ्ग गम्पो (Songtsen Gampo) को सुरुवाती कालसम्म शाननान सहर तिब्बतको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित थियो । यहाँ तिब्बती इतिहासका धेरै ‘पहिलो’ घटनाहरू भएका छन् । जस्तैः– तिब्बतको पहिलो खेतीपाती गरिएको क्षेत्र, पहिलो गाउँ, पहिलो तिब्बती राजा, पहिलो दरबार, पहिलो गुम्बा, पहिलो शास्त्र, र पहिलो तिब्बती नाटक । तसर्थ, शाननानलाई चीनको विशिष्ट संस्कृतिको महत्वपूर्ण संरक्षित क्षेत्रको रूपमा लिइन्छ । शाननानले अद्वितीय हिमाली पठारको दृश्य प्रदर्शन गर्दछ । यो क्षेत्र प्राकृतिक रूपमै चीनको राष्ट्रिय पारिस्थितिक सुरक्षा प्रणालीको महत्वपूर्ण अंश हो । यहाँका पवित्र पर्वत र तालहरू विश्वप्रसिद्ध छन् । कुलाकाङ्ग्री हिमाल आकासको बादल चिरेर जाने स्तम्भ (टावर) जस्तै उभिएको छ भने यामड्रोक ताल हरियो रत्नजडित पत्थरजस्तै सफा छ । यहाँ पर्यटकीय आकर्षण केन्द्रहरू र ऐतिहासिक स्थानहरू प्रशस्त छन् । यहाँ एउटा राष्ट्रिय निकुञ्ज, पाँचवटा ४ए–स्तरका र १३ वटा ३ए–स्तरका पर्यटकीय स्थलहरू छन् । यसकारण, शाननानले आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको विशेष क्षेत्र निर्माण गर्नका लागि विशिष्ट लाभ र अनुकूल अवस्था प्रदान गर्दछ ।

शाननान र नेपाल आपसमा हिमाल र नदीद्वारा जोडिएका छन् र हामीबिच परम्परागत मित्रताको लामो इतिहास पनि छ । नेपाली चेली भृकुटी रानी भएर तिब्बतमा प्रवेश गर्दा नै दुई देशहरूबिच मित्रताको पहिलो बीउ रोपिएको थियो । तिब्बती संस्कृतिको जन्मस्थलको रूपमा रहेको शाननानले नेपालसँग ‘चिया–घोडा मार्ग’ (Tea-Horse Road) को ऐतिहासिक स्मरण गराउँदछ र यसले हिमालयपार व्यापार मार्गको रूपमा मात्र परिचय दिएको छैन, बरु दुई देशबिचको संस्कृतिको आदानप्रदान र सभ्यताको आपसी सिकाइको पुल पनि बनेको छ । यसका साथै एक क्षेत्र एक मार्ग अगुवाइ (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गत नयाँ युगको कथा पनि लेखिँदै छ भन्ने हाम्रो बुझाइ हो । हामी इतिहासको यो उपहारलाई सम्मान गर्छौँ र सबैसँग मिलेर यो मित्रतालाई नयाँ युगमा अझ उचाइमा पुर्याउन प्रयत्नशील छौँ । हामी हाम्रो संस्कृतिलाई दुई देशबिचको बलियो सम्बन्धको सेतुको रूपमा अङ्गीकार गरी आपसी लाभको लागि सहकार्य गरौँ र हिमालय पारको मित्रताको नयाँ यात्रा सुरु गरौँ भन्न चाहन्छौँ । यसका लागि निम्न प्रयासहरूलाई अगाडि बढाउन आह्वान गर्दछौँ :

पहिलो, सांस्कृतिक र पर्यटनका स्रोतहरूको आदानप्रदान र प्रवद्र्धनलाई गहिरो बनाऔँ । हामी भक्तपुरका पर्यटन सहकर्मीहरू र पत्रकार साथीहरूलाई शाननानको भ्रमण गर्न, अवलोकन गर्न र जमघट गर्न हार्दिक निमन्त्रणा गर्दछौँ । हामी शाननानका सांस्कृतिक र पर्यटन उद्यमीहरूलाई नेपाल भ्रमण गर्न, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन विकास र अन्य पक्षहरूमा भक्तपुरको उन्नत अनुभव सिक्न र उपयोग गराउन चाहन्छौँ । उदाहरणका लागि फोटो प्रदर्शनी र प्रचारात्मक भिडियो प्रदर्शनीको माध्यमबाट हामी दुवै स्थानका मानिसहरूलाई एकअर्काका सुन्दर दृश्यहरू र जीवन्त संस्कृतिको रसास्वादन गराउन सक्छौँ ।

दोस्रो, संस्कृति र मूर्त–अमूर्त कलाको विषयमा अन्तरक्रिया र संवादलाई प्रवद्र्धन गरौँ । हामी संयुक्त रूपमा सांस्कृतिक आदानप्रदानका लागि थप मञ्चहरू निर्माण गर्न र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छौँ । उदाहरणका लागि दुवै स्थानका कलाकार तथा सांस्कृतिककर्मी समूहहरूको आपसी भ्रमण र प्रदर्शनीको अवसर प्रदान गरौँ, द्विपक्षीय व्यापारलाई प्रवद्र्धन गरौँ र आपसी सिकाइलाई अगाडि बढाऔँ ।

तेस्रो, पर्यटकहरूको आपसी आदानप्रदान र बजारको समृद्धिलाई संयुक्त रूपमा प्रवद्र्धन गरौँ । हामी नेपालका पर्यटन उद्योगसँग हात मिलाएर सांस्कृतिक र पर्यटन उत्पादनहरूको नवप्रवर्तनलाई बढावा दिन, शाननानको सांस्कृतिक सम्पदा भ्रमणलाई नेपालका प्राकृतिक अन्वेषण र धार्मिक तीर्थयात्रा भ्रमणसँग संयोजन गर्न ‘हिमालय पार पर्यटन’ लाई विश्वव्यापीकरण गर्न तत्पर छौँ ।

Leave A Reply

Your email address will not be published.