भूकम्प इन्जिनियरिङ र शहरी योजना तथा संरक्षणका नयाँ विद्यार्थीहरुलाई स्वागत
भक्तपुर । २०८२ जेठ १
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इ.को संयुक्त आयोजनामा भूकम्प इन्जिनियरिङ र शहरी योजना तथा संरक्षणका नयाँ विद्यार्थीहरुलाई स्वागत, अभिमुखीकरण र स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थी मेधास्मी खतिवडा र युरिका शाक्यलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै सचिव सुवालले नेपाल मजदुर किसान पार्टीको राजनैतिक प्रतिबद्धताअनुसार ख्वप सर्कलअन्तर्गतका कलेजहरुको स्थापना भएको बताउँदै राजनीति देश र जनताको निःस्वार्थ सेवा हो भन्नुभयो । राजनीतिको नाममा गलत गर्नु देशप्रतिको धोखा र बेइमानी भएको प्रष्ट पार्दै सांसद सुवालले देशको सन्तुलित विकासमा संघीय सरकारले जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।भक्तपुर नपाले सञ्चालन गरेका सातवटा कलेजहरुमा देशका विभिन्न जिल्लाबाट ४४ हजार भन्दा बढीले अध्ययन गरिसकेको बताउँदै उहाँले सक्षम र भौतिक रुपमा सम्पन्न भएर पनि शासकहरुले भक्तपुर नपालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न नदिइएको उहाँले बताउनुभयो ।
ख्वप विश्वद्यिालयलाई नगर विश्वविद्यालयको रुपमा सञ्चालन गर्न खोजेका हौं भन्दै सांसद सुवालले संविधान संशोधन देशको आवश्यकताअनुसार हुन जरुरी रहेको बताउनुभयो ।
सरकार आफ्नो दायित्वबाट पन्छिन खोजिरहेको बताउँदै उहाँले सबै पूर्वाधारहरुको विकास पछि मात्र व्यवस्थित आवास योजना सञ्चालनतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
महाकाली सन्धि देशको लागि घातक भएको प्रसंग उल्लेख गर्दै उहाँले भारतले नेपालका नदीनालाई दुईदेशको साझा नदीको रुपमा उपभोग गर्न खोज्नु गलत भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज भक्तपुरको उदाहरणीय कलेज बन्न सफल भएको र यस कलेजलाई अगाडि बढाउन थप मेहेनत जरुरी रहेको बताउनुभयो ।नेपाल भूकम्पीय जोखिम भएको देश हो र यसलाई मध्यनगर गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरु भूकम्प इन्जिनियरिङ लाई महत्वका साथ यी विषयहरु सञ्चालनमा ल्याएको बताउँदै उहाँले भक्तपुर नपाले भूकम्पलाई अवसरको रुपमा ग्रहण गरी यहाँको सम्पदा संरक्षणमार्फत भक्तपुरलाई देशकै उदाहरणीय र नमुनाको सहरको रुपमा विकास गरेको बताउनुभयो ।
भक्तपुरले यहाँको विकास विदेशी सहयोगविना जनताको साथ र सहयोगले सम्पन्न गरेको बताउँदै भक्तपुरको पहिचान जोगाउन सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य उपभोक्ता समितिमार्फत सञ्चालन गरेको बताउनुभयो ।
देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय शिक्षा प्रदान गरी नयाँ नयाँ प्रविधिमार्फत देशको विकास गर्ने लक्ष्यले भक्तपुर नपाले विभिन्न शैक्षि संस्था सञ्चालन गरेको बताउँदै युवा जनशक्ति विदेशिनमा सरकार र म्यानपावर कम्पनीहरु मुख्य दोषी रहेको स्पष्ट पार्नुभयो ।
उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरुको उद्देश्य पूरा गर्ने काम यहाँ अध्ययनरत विद्यार्थीहरुले गरिरहेकोमा खुशी व्यक्त गर्दै देशकै लागि उत्कृष्ट जनशक्ति उत्पादन गर्दै कलेजले आफ्नो ख्याति र गरिमालाई अझ उँचो बनाउने काम गर्दै आएको बताउनुभयो ।
ख्वप इ. कलेजका प्राचार्य सुजन माकले ख्वप इ. कलेजमा नेपालमा पहिलोपटक भूकम्प इ. विषय पढाइ हुने कलेजको रुपमा रहेको बताउँदै नेपालका कला संस्कृति र सम्पदा संरक्षित क्षेत्रलाई मध्यनजर गर्दै अर्बान डिजाइन र कन्जर्भेसन विषयलाई महत्वका साथ अध्ययन अध्यापन हुँदै आएको बताउनुभयो ।
ख्वप कलेज अफ इ. का प्राचार्य सुनिल दुवालले स्नातकोत्तर तह स्नातक भन्दा पनि बृहत भएको हुँदा व्यापक दृष्टिकोणले विद्यार्थीहरुले अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य डा. सुबेगमान बिजुक्छेँले स्नातकोत्तर तह भनेको शिक्षण सिकाइ भन्दा पनि अनुसन्धानमा आधारित शिक्षा हुने भएकोले विद्यार्थीहरुले थप मेहेनत गर्नुपर्ने बताउनुभयो ।्
विभागीय प्रमुख डा. मन्जिप शाक्यले भूकम्प इन्जिनियरिमा ३११ जना र अर्बाइन डिजाइनमा १८१ गरी ४९२ जनाले स्नातकोत्तर तह भर्ना भइसकेको तथ्यांक प्रस्तुत गर्नुभ्यो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी मेधास्मी खतिवडा र युरिका शाक्यले पनि कलेजबारे आफ्नो अनुभव सुनाउनुभयो भने विभागीय प्रमुख लिबास फैजुले पनि बोल्नुभएको थियो ।