Explore news and happenings at Bhaktapur

बो सिंहको मूर्तिहरुको क्षमापूजा : पार्वतीको मूर्ति फिर्ता ल्याउन पहल

२०७९ असार १६ गते, बिहीबार

0

भक्तपुर नपा वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह स्थानान्तरणसँगै आज भक्तपुर नपा वडा नं. ७ र स्थानीय जनताको अग्रसरतामा क्षमा पूजाको आयोजना गरिएको छ । उक्त अवसरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बो सिंहहरुमा औपचारिक पुनःस्थापना गर्नुभयो ।
बि.सं. १९९० सालको महाभूकम्पपछि भक्तपुर दरबार क्षेत्रस्थित शिलु महादेव मन्दिरमा रहेको २ वटा बो सिंहहरु गोल्मढीको गःहिटीमा राखिएको प्रष्ट भएपछि स्थानीय जनता र नगरपालिकाको समन्वयमा केही समय अघि त्यहाँ रहेका पुराना बो सिंहहरु सिलु महादेव मन्दिरमा फिर्ता गरिएको थियो ।
स्थानीय जनताको मागअनुसार नयाँ बो सिंहहरु निर्माण गरी गःहिटीमा पुनःस्थापना गरिएको हो ।
सोही क्रममा भक्तपुर नगरपालिकाले चार दशक अघि हराएको भनपा वडा नं. ७ गोल्मढीस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित हातमा नागसहितको कमलको फूल लिएको पार्वतीको मूर्ति पहिलेकै स्थानमा पुनःस्थापना गर्नको लागि भक्तपुर नपाले बिहीबार पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डामा आवश्यक पहलको लागि पत्राचार गरेको छ ।
२०७९ वैशाख २३ गते अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटीले नेपाली महावाणिज्य दूतावाससँग मूर्ति फिर्ता गर्ने समझदारी भएसँगै उक्त मूर्ति नेपाल ल्याएर हाल छाउनीस्थित कला संग्रहालयमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.