Explore news and happenings at Bhaktapur

ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा मार्गदर्शन कार्यक्रम

भक्तपुर, चैत्र २३ गते।

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) ले नेपाल सरकारले भक्तपुर नगरपालिकालाई मेडिकल कलेज खोल्ने अनुमति दिएको भए गरिब जनताका छोराछोरीहरुले कम शुल्कमा चिकित्साशास्त्र अध्ययन गर्न पाउने र देश र जनताको इमान्दारिपूर्वक सेवा गर्ने जनशक्ति तयार हुने बताउनुभयो । उहाँले शासक दलहरु पूँजीपति वर्ग र मेडिकल माफियाहरुको इशारामा चलिरहेको हुँदा भक्तपुर नगरपालिकालाई मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय संचालन गर्न अनुमति नदिएको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानका कर्मचारीहरुबीच शनिबार सम्पन्न शुभकामना आदानप्रदान तथा मार्गनिर्देशन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले समाजवादी देश क्युवामा दुई सय जना नागरिक बराबर एक जना डाक्टरको प्रबन्ध भएको चर्चा गर्दै समाजवादमा नागरिकको शिक्षा, स्वास्थ्य उपचारलगायतका सबै सुविधा सरकारको दायित्व अन्तर्गत निःशुल्क हुने जानकारी गराउनु भयो ।
भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सानो नगर र राजधानीबाट नजिक भएको तथा यहाँका जनतामा एकता रहेको उल्लेख गर्दै भक्तपुरलाई विकास निर्माण, स्वास्थ्य उपचार, सम्पदा संरक्षण जस्ता कार्यमा सरकारले टेस्ट ट्युवको रुपमा नमूना कार्य गरेको भए त्यसबाट आउने सकारात्मक परिणाम देशभरि लागू गर्न सकिने कुरा उहाँले जोड दिनुभयो ।
छिमेकी समाजवादी मुलुक चीनमा दु्रततर विकास हुनुमा सरकारका हरेक योजनाहरु तल्लो तहसम्म पटक पटक बैठक गरी जनतालाई सुसूचित पार्ने र जनताबीच अपनत्व कायम गर्ने अभ्यास भएको अनुसन्धानबाट पत्ता लगाइएको चर्चा गर्दै का. बिजुक्छेंले नगरपालिका र ख्वप अस्पतालका सबैं गतिविधि र सेवासुविधाबारे जनतालाई बताइरहनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पटक पटकको बैठकले जनता सुसूचित हुन्छन् र नगरपालिकाका हरेक कार्यमा अपनत्व ग्रहण गर्छन् । अनि जनताहरु निःस्वार्थ भावले नगरपालिका र अस्पतालका हरेक कार्यमा साथ र सहयोग गर्छन् ।’
नयाँ पुस्तालाई आप्mनो मातृभाषाबाहेक कम्तिमा थप तीन वटा भाषा सिक्न उत्साहित गर्नुपर्ने सन्दर्भ जोड्दै प्रमुख अतिथि बिजुक्छेंले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई विरामीको भावना बुझ्न र उपचार सेवालाई प्रभावकारी बनाउन विरामीकै भाषामा बुझाउनु पर्ने तर्क पेश गर्नुभयो । उहाँले संसारका नयाँ नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धानहरुबारे अध्ययन गर्दै आफूलाई उत्कृष्ट बनाउने मेहनत जारी राख्न सल्लाह दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख एवं ख्वप अस्पताल तथा ख्वप बहुप्राविधिक अध्ययन संस्था संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पताल जनताको अस्पताल भएको चर्चा गर्दै कर्मचारीहरुलाई जनताको डाक्टर, जनताको नर्स र जनताको स्वास्थ्यकर्मी भई इमान्दारिपूर्वक निःस्वार्थ भावले उपचारमा लाग्न निर्देशन दिनुभयो ।
उहाँले प्रतिकूलतालाई अनुकूलतामा र संकटलाई अवसरमा परिणत गर्ने संकल्प सहित कोभिड महामारीको समयमा जनताको साथ र सहयोगमा २०७८ बैशाख १७ गते जनस्वास्थ्य केन्द्रलाई ख्वप अस्पतालमा स्तरोन्नती गरेको र अक्सिजन प्लान्ट स्थापना गरी जनतालाई निःशुल्क वितरण गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले हाम्रा हरेक गतिविधिको जनताले मूल्यांकन गर्ने उल्लेख गर्दै सानो गल्तीले पनि समाजमा ठूलो दुर्घटना हुनसक्ने सचेत हुन तथा जनताको उपचार सेवामा कुनै कमजोरी नगर्न सबैलाई अनुरोध गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले गरिब तथा आर्थिक अवस्था कमजोर भएका जनतालाई महंगा निजी अस्पतालको सेवा कम शुल्कमा उत्कृष्ट ढंगबाट प्रदान गर्ने उद्देश्यसहित ख्वप अस्पताल संचालन भएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशन बमोजिम नै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचार सेवालाई प्राथमिकता दिएको प्रष्ट पार्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले भक्तपुर नगरपालिकाले नगरबासीहरुलाई निःशुल्क रुपमा अक्सिजन र रगत प्रदान गरिरहेको अनुकरणीय अभ्यास भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल र ख्वप कलेज अफ ल का प्राचार्य अधिवक्ता अनिता जधारीले नगरपालिकाबाट संचालित शिक्षण संस्थाहरुबाट देशभरिका विद्यार्थीहरुले शिक्षा पाइरहेको चर्चा गर्दै देशभक्त, अनुशासित, इमान्दार र दक्ष नयाँ पुस्ता तयार गर्ने कार्य निरन्तर जारी रहेको बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका इन्चार्ज ईश्वरी डंगोलले ख्वप अस्पतालमा कार्यरत दुई तिहाई भन्दा बढी नर्सिङ जनशक्ति ख्वप बहु प्राविधिक अध्ययन संस्थानकै भएकोमा खुशी व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल र भक्तपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले स्वास्थ्यसेवामा लागिरहेका कर्मचारीहरुलाई ऊर्जा प्रदान गर्न निरन्तर अग्रजहरुको प्रत्यक्ष मार्गनिर्देशनमा जनताको सेवा गरिरहँदा गर्व अनुभूति भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.