भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा प्रमाणपत्र तह नर्सिङ प्रथम वर्ष (२१ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरूले भनपा वडा नं. १० को ४०० घरमा गरेको स्वास्थ्यसम्बन्धी अध्ययनको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले अध्ययन अनुसन्धानबाट प्राप्त सही तथ्याङ्कले योजना बनाउन सहयोग पुग्नुका साथै काम गर्न सहज हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रको तथ्याङ्क लिएर त्यसको आधारमा योजना बनाई काम गरिरहेको छ । घर दैलो नर्सिङ कार्यक्रमबाट धेरै नगरवासी लाभान्वित भइरहेका छन् ।”
सङ्कटबाट डराउन नहुने चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सङ्कट समाधान गर्न सके नयाँ नयाँ अवसरहरू हासिल हुनेछन् । कोरोना सङ्कटको बेला भक्तपुरवासीले गरेको सहयोगबाट ख्वप अस्पतालमा सञ्चालन भएको अक्सिजन प्लान्टले जनतालाई निःशुल्करूपमा अक्सिजन वितरण भइरहेको छ, यसबाट धेरै जनताले लाभ पाइरहेका छन् ।”
अहिले सर्नेभन्दा नसर्ने रोगहरू बढिरहेकोले सजग हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नियमित खानपिन र व्यायाममा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भनपाले शिक्षा–स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, नर्सिङ विभाग प्रमुख इश्वरी डंगोल, दीपिका कोजु, आर्या मानन्धर, हिमानी दाहाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।



