Explore news and happenings at Bhaktapur

राराहिल मेमोरियल स्कूलका शिक्षकहरु भक्तपुर भ्रमणमा

भक्तपुर । २०८१ चैत्र २

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित किर्तिपुरस्थित राराहिल स्कूलका प्रिन्सिपल जगतबहादुर महर्जनको नेतृत्वमा आएको शिक्षक प्रतिनिधिमण्डलले शनिबार भेट गर्यो ।
भेटको अवसरमा नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले संविधान र कानुनको परिधिभित्र रहेर जनताको सेवा गरिरहेको बताउनुभयो । उहाँले आफूहरु कामदार वर्गबाट आएको हुँदा कामदार वर्गको हितमा शिक्षा, स्वास्थ्य उपचार, सरसफाइजस्ता काममा जोड दिइरहेको बताउँदै भन्नुभयो, हरेक नागरिकलाई उच्च शिक्षाको पहुँच पुर्याउन नगरपालिकाले ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको छ । गरिब विद्यार्थीहरुका लागि छात्रवृत्ति र शैक्षिक ऋणको बन्दोबस्त छ ।
गरिबहरु उपचारविना मर्न नपरोस् भनी भक्तपुर नपाले १०० शैय्याको अस्पताल सञ्चालन, वडा वडामा स्वास्थ्य केन्द्र, आँखा अस्पताल सञ्चालन तथा घरदैलो नर्स सेवा दिएर जनताको सेवा गरिरहेका छौं, नगर प्रमुख प्रजापतिले भन्नुभयो ।
आत्मनिर्भर भएर बाँच्न कडा परिश्रम गरिरहेका छौं । सम्पदा पुनःनिर्माणमा विदेशीको सहयोग स्वीकार गरेनौं । जनतासँग सहयोग माग्यौं, जनताकै सहयोगमा भक्तपुरका सयौं सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गर्यौं, उहाँले थप प्रष्ट पार्नुभयो ।
सरकारले सहयोग नगरेको कारण ख्वप विश्वविद्यालय सञ्चालन गर्न नसकेको बताउँदै उहाँले शासन सत्तामा बस्नेहरुमा जनताका छोराछोरीलाई सहज ढंगले पठनपाठनको व्यवस्था गर्नुपर्छ भन्ने चेत नआएसम्म ख्वप विश्वविद्यालयको स्वीकृति पाउन सक्ने अवस्था छैन भन्नुभयो ।
राराहिल स्कूलका प्रिन्सिपल जगतबहादुर महर्जनले संविधानमा समाजवादउन्मुख राज्य व्यवस्थाको कुरा उल्लेख भएकोमा भक्तपुरमा भने समाजवादको अभ्यास भइरहेको आफूहरुले पाएको बताउनुभयो । सबैतिर भ्रष्टाचार, अनियमितता र बेथितिमात्र भएको सुन्दै आएकोमा फरक ढंगले काम गरिरहेको स्थानीय तह पनि भएको रहेछ र भक्तपुर उदाहरणीय भनेर सुन्दै आएकोमा वास्तविकता अनुभव गर्न पाएको भनी उहाँले खुशी व्यक्त गर्नुभयो ।
उहाँले राराहित स्कूल २०४६ सालको जनआन्दोलनमा शाहादत प्राप्त गर्नुभएका वीर शहिदहरुको सम्झनामा स्थापना भएको बताउँदै हाल उक्त विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको र विद्यालय सार्वजनिक गुठी अन्तर्गत सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
उहाँहरुले कलेजहरुको व्यवस्थापन र अस्पतालको आर्थिक पक्ष, प्राध्यापक र डाक्टर नियुक्ति प्रक्रिया, सञ्चालन समिति गठन प्रक्रियालगायतका विषयहरुमा नगर प्रमुखसमक्ष जिज्ञासा राख्नुभएको थियो ।
प्रतिनिधिमण्डलले नगरपालिकाबाट सञ्चालन ख्वप इ। कलेज, ख्वप कलेज अफ इ।लगायत शैक्षिक संस्थाहरु, ख्वप अस्पताल र भक्तपुरको सम्पदा क्षेत्रहरु दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्रलगायत अवलोकन गर्यो ।
प्रतिनिधिमण्डलमा ६० जना जति शिक्ष्ँक, व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता थियो । टोलीलाई पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवाले स्वागत गर्नुका साथै सहजीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.