‘नेपाली जनताले चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्रको रुपमा लिएका छन्’
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
नाचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।
नेपाल र चीन दुई छिमेकी मित्र देशहरु हुन् । नेपाल र चीनबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ । नेपाल—चीन दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको हो । यस अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु हामी सबैको जिम्मेवारी हो । भ्रमण वर्ष सफल पार्न नेपाल—चीनबीच साँस्कृतिक र पर्यटकहरुको आदानप्रदानका गतिविधिहरुमा जोड दिन आवश्यक छ । विश्व सम्पदामा सूचिकृत यस भक्तपुर दरबार क्षेत्रमा नेपाल भ्रमण वर्षको घोषणा र साँस्कृतिक कार्यक्रम तथा ¥याली हुनु पनि त्यसैको एक सिलसिला हो ।
नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो । विश्वको सर्बोच्च शिखर सगरमाथा र अन्य उच्च हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा अवस्थित छन् । राम्रो प्रचारप्रसार नहुँदा नेपालमा पर्यटन क्षेत्रको आशातित विकास हुन सकेको छैन । पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाएको खण्डमा पर्यटन क्षेत्रबाट पनि देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउन सकिन्छ ।
भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुले भरिएको नगर हो । यहाँ बाह«ै महिना विभिन्न साँस्कृतिक गतिविधिहरु भइरहन्छन् । २०७२ सालको भूकम्पले यहाँका हजारौं निजी घरहरु र सयौं सम्पदाहरुमा आंशिक र पूर्ण क्षति पु¥यायो । भक्तपुर नगरपालिकाले विदेशी सहयोग विना ती क्षतिग्रस्त अधिकांश सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्धार सम्पन्न गरिसकेको छ भने अझै कयौं सम्पदाहरु निर्माणाधीन अवस्थामा छन् ।
भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको नगर हो । यहाँ वर्षेनी लाखौं विदेशी पर्यटकहरुले भ्रमण गर्ने गर्छन् । नेपाल आउने पर्यटकहरुमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक छ । भक्तपुर भ्रमण गर्ने पर्यटकहरुहरुबाट भक्तपुर नगरपालिकाले केही प्रवेश शुल्क लिने गरेको छ । त्यसबाट जम्मा भएको रकमबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ ।
चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्छ । चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणको सिलसिलामा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गर्नुभएको छ । यसरी मित्र देश चीनका सरकारी उच्च पदाधिकारीहरुलाई समय समयमा स्वागत गर्न पाउँदा हामी भक्तपुरबासीहरु अत्यन्त खुशी छौं ।
२०७२ सालको भूकम्प, नाकाबन्दीबाट नेपाली जनता पीडामा परेको बेला होस् या विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संकटको घडीमा चीन सरकारले नेपाललाई गरेको सहयोग नेपाली जनताले बिर्सनेछैनन् । नेपालीमा एउटा भनाइ छ — संकटको बेला सहयोग गर्नेहरु नै असल मित्र हुन्छन् । नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रुपमा लिएका छन् ।
चीनकै सहयोगमा बनेका भैरहवा र पोखरा विमानस्थल सुचारु हुन सके नेपालमा आउने चिनियाँ पर्यटकहरु अझ बढ्ने आशा छ । यसबारे नेपाल सरकार र महामहिम चिनियाँ राजदूतज्यूबाट आवश्यक पहल हुने अपेक्षा गर्छौं ।
अन्त्यमा, ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँ नयाँ वर्ष २०२५’ को अवसरमा सम्पूर्ण नेपाली जनता र चिनियाँ जनतालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्दछौं । यस्तो महŒवपूर्ण कार्यक्रम भक्तपुर नगरपालिका समेतको आयोजनामा गर्ने अवसर प्रदान गर्नुभएकोमा नेपाल सरकार र महामहिम चिनिया“ राजदूत छङ सङज्यूलगायत सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवादज्ञापन गर्दछौं । धन्यवाद ।
(मिति २०८१ माघ ५ गते शनिबारको दिन भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँ नयाँ वर्ष २०२५’ को अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य)
