Explore news and happenings at Bhaktapur

नियमित पाक्षिक सरसफाइअन्तर्गत भनपा-१ स्थित भाजुपोखरी सरसफाइ

मिति २०८१ कार्तिक १५ गते बिहीबार ।

0
भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा १ स्थित भाजुपोखरी र भाजुपोखरीको डिलको सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्याम्पससँगै रहेको भाजुपोखरीको दक्षिणतिरको डील खोल्ने विषयमा त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरुसँग पटक पटक छलफल भइसकेको बताउनुहुँदै भक्तपुर क्याम्पस र भाजुपुखुको सौन्दर्यकरणको लागि भनपाले सरसफाइ अभियान सञ्चालन गरेको बताउनुभयो ।
भक्तपुर नगरलाई स्वच्छ, सुन्दर ऐतिहासिक पर्यटकीय नगरको रुपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुहुँदै साँस्कृतिक नगर भक्तपुरलाई जीवन्त राख्न साँस्कृतिक सम्पदाहरु जगेर्ना गर्ने कार्य गर्दै आएको तथा नयाँ पुस्तालाई सम्पदा संरक्षण र त्यसको महत्वबारे जनचेतना जगाउन कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रममा पोखरीलगायत विभिन्न सम्पदाहरुको संरक्षणसम्बन्धी विषयवस्तु समावेश गरी पठनपाठन भइरहेकाे बताउनुभयो ।
उहाँले नेपाल भ्रमण गर्ने करिब २५ प्रतिशत विदेशीहरु भक्तपुरको अवलोकन गर्न आइरहेको जानकारी दिनुहुँदै ८०० वर्ष पुरानो भाजुपोखरीको संरक्षण पश्चात यसको अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटकहरुको चाप बढिरहेकोमा पोखरीको चारैतिरको डील खोलीसकेपछि पर्यटकहरूलाई अझ बढी सहज हुने बताउनुभयो ।
त्यस्तै भक्तपुर नपा उपप्रमुख रजनी जोशीले भनपाले गरिरहेको सरसफाइ अभियान कुनै व्यक्ति विशेष कार्य नभई समाज र समुदायकै हितमा केन्द्रित छ भन्नुहुँदै सम्पदा संरक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको ऐक्यबद्धताकोे आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षणले देशैभरीका आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि सहज भइरहेको चर्चा गर्नुहुँदै भाजुपोखरीको डील खोल्दा कुनै व्यक्ति विशेष र संस्थालाई होइन जनताको हित हुने चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले भाजुपोखरी संरक्षणको लागि पटक पटक सरसफाइ गर्दै आइरहेको बताउनुहुँदै सम्पदा संरक्षणको महत्वबारे चर्चा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.