Explore news and happenings at Bhaktapur

ख्वप कलेज अफ इन्जिनियरिङ्ग र ख्वप इन्जिनियरिङ्ग कलेजमा शुभकामना आदान प्रदान

मिति २०८१ असोज २२ गते मंगलबार ।

0
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं माननीय साँसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ्ग र ख्वप ई. कलेजमा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम कलेजको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सुवालले भन्नुभयो –“काठमाण्डौ उपत्यकाको माटो अन्यत्रबाट ओसारेर थुपारिएको जस्तो कमजोर भएको भूगर्भशास्त्रीहरुको ठम्याइ छ । कालान्तरमा यहाँका सडकहरु भासिने र दुर्घटना हुने सम्भावना छ ।”
उहाँले उपत्यकाभित्र विभिन्न जिल्लाहरुबाट बसाई सराई गर्ने क्रम बढेको हुँदा यातायातको चाप, प्रदुषण, खानेपानीको अभाव बढेको बताउनुहुँदै काठमाण्डौ उपत्यका भित्रको वस्तीलाई सुरक्षित बनाउन संघीय राजधानी पश्चिम नेपालको दाङ उपत्यकामा स्थानान्तरण गरी सन्तुलित विकासको नयाँ अभियान शुरु गर्न आवश्यक भएको बताउनुभयो ।
प्रमुख अतिथि सुवालले क्यान्सरको जोखिम दिनानुदिन बढिरहेको हुँदा खानपानमा ध्यान दिनुपर्ने तथा अर्गानिक खेतीमा जोड दिनुपर्ने बताउनुह्ुँदै निःशुल्क स्वास्थ्य उपचार नपाउनाको कारण नेपालीहरु गरिबीको रेखामुनि पुगेको यथार्थता औंल्याउनुभयो ।
उहाँले “नेपाल वैदेशिक ऋणको दलदलमा फस्दै गएको हुँदा देशको सार्वभौमिकता जोगाउन आत्मनिर्भरताको सोच विकास गर्न आवश्यक छ” भन्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचारहरुको खण्डन गर्दै उहाँले भारतले नेपाललाई कहिल्यै स्वतन्त्र देशको रुपमा स्वीकार्न नचाहेको र भारतको साम्राज्यवादी नीतिले नेपाललाई कहिल्यै विकास हुन नदिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो –“ हाम्रा देशका शासकहरुले देशको हितमा कहिल्यै काम गरेको छैन । भारतको इशारामा काम गर्ने शासकहरुले कहिल्यै देशको हितमा काम गर्दैनन् ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सरकारले नियन्त्रण गर्नेपर्ने क्रसर उद्योग, प्राविधिक त्रुटी, ठेकेदारहरुका कारण बाढी पहिरोमा ठूलो धनजनको क्षति भएको बताउनुहुँदै विपद् व्यवस्थापनमा सरकार गम्भीर नभएको औंल्याउनुभयो । उहाँले भन्नुभयो –“संविधान संशोधन दलीय स्वार्थ, व्यक्तिगत स्वार्थको निम्ति हुनुहुँदैन, जनताको हितको निम्ति हुनुपर्छ ।”
देशमा दुई दलीय तानाशाही हाबी हुन लागिरहेको बताउनुहुँदै उहाँेले सक्षम स्थानीय तहलाई कलेज÷विश्वविद्यालय सञ्चालन गर्न संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय स्थापानको लागि भनपा–१ स्थित १०८ रोपनी जग्गा दिने विषयमा सम्बन्धित निकायले अझ आनाकानी गरिरहेको जानकारी दिनुहुँदै शिक्षामा व्यापारीकरण बन्द गर्नुपर्ने र ख्वप सर्कल अन्तर्गतका कलेजहरुमा नयाँ नयाँ विषय थप गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज संचालक समितिका उपाध्यक्ष रजनी जोशीले मानव सिर्जत विपद्ले धेरै धनजनको क्षति भएको बताउनुहुँदै प्राविधिकहरुमा व्यवहारिक ज्ञानको आवश्यकता रहेको बताउनुभयो । उहाँले १२ औं शताब्दीमा भक्तपुर एउटा व्यवस्थित सहरको रुपमा विकास भएको जानकारी दिनुहुँदै प्रयोगात्मक सिकाईमा विद्यार्थीहरुलाई अभ्यस्त बताउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले चाड पर्वलाई भौतिकवादी दृष्टिकोणले व्याख्या गरिनुपर्ने बताउनुहुँदै विदाको समयलाई स्वअध्ययन गरी सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी ख्वप ई. कलेजका प्रचार्य ई. सुजन माकले प्राविधिकहरुले देश विदेशका घटनाक्रम, युद्ध, राजनीतिबारे अध्ययन गर्नुपर्ने बताउनुहुँदै कक्षा १२ उत्तीर्ण हुने युवाहरुमा विदेश मोह बढ्दै गएकोले इन्जिनियरिङ विषय पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गएको हुँदा युग सुहाउँदो शिक्षा प्रदान गर्न जोड दिंदै आएको बताउनुभयो ।
कार्यक्रममा उपप्राचार्यद्वय रत्नशोभा प्रजापति र सुवेगमान बिजुक्छें, प्रशासकीय अधिकृत सञ्जय मानन्धर र जिन्सी अधिकृत राजन जतिले पनि बोल्नु भएको थियो । साथै दुवै कलेजका विभागीय प्रमुखहरु र शाखा प्रमुखहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा गीत र कथा प्रस्तुती तथा कविता वाचन गरिएको थियो ।
+8
See insights and ads
Boost post
All reactions:

19

Leave A Reply

Your email address will not be published.