प्रमुख प्रजापतिद्वारा ‘शैक्षिक अनुभव’ को १५ औं पूर्णाङ्क विमोचन
भक्तपुर । २०८१ असोज २०
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ को १५ औं पूर्णाङ्कको विमोचन कार्यक्रम आज सम्पन्न भयो ।
‘शैक्षिक अनुभव’ विमोचन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकासमा सेवा निवृत्त शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै सेवा निवृत्त शिक्षकहरुसँग भएको ज्ञान, अनुभव समाजमा लागि उपयोगी र प्रेरणादायी हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले ‘शैक्षिक अनुभव’ बारे रचनात्मक सुझाव दिँदै समय सापेक्ष ढंगले यस प्रकाशनलाई परिमार्जन गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरको शैक्षिक जग बलियो बनाउन भक्तपुर नपाले विभिन्न विषयका शैक्षिक संस्थाहरु सञ्चालन गर्दै देशभरिका विद्यार्थीहरुलाई सस्तो र सुलभमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
शिक्षक हुनुमा गौरव गर्नुपर्ने बताउँदै उहाँले शिक्षकहरु विद्यार्थीहरुका मार्गदर्शक र अभिभावक पनि भएको बताउनुभयो ।
भक्तपुरलाई देशकै उदाहरणीय र नमुना नगर बनाउन शिक्षा क्षेत्रमा उल्लेखनीय कार्यहरु हुन जरुरी रहेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा दलाली र दलीय भागबण्डाको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।
भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन भएमा देशभरिका जनताले सहज ढंगबाट उच्च शिक्षा हासिल गर्ने अवसर पाउने बताउँदै उहाँले भक्तपुर नपाले जनताको सहयोगमा जनतालाई प्रत्यक्ष परोक्ष फाइदा पुग्ने गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो ।
संविधान संशोधन कसैको दबाब र प्रभावले भन्दा पनि जनताको हितको लागि हुनु उपयुक्त हुने बताउँदै उहाँले नेपालमा अहिले दुई दलीय तानाशाही हावी भइरहेको बताउनुभयो ।
संयुक्त राज्य अमेरिका संसारमा आक्रमक देशको रुपमा अगाडि बढिरहेको छ भन्दै उहाँले अमेरिकी साम्राज्यवादको विरोध नगर्ने राजनीतिक पार्टीहरु देश र जनताको पार्टी हुन नसक्ने बताउनुभयो ।
एभरेष्ट इ. स्कूलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले सेवा निवृत्त शिक्षक समाजले आगामी दिनहरुमा प्रेरणादायी कामहरु गर्नेमा आफू विश्वस्त रहेको बताउँदै शिक्षकहरुको हक हितको लागि सेवा निवृत्त शिक्षक समाजले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
समाजका सदस्य एवम् शैक्षिक अनुभवका प्रधान सम्पादक ज्ञानसागर प्रजापतिले शैक्षिक अनुभवमा समेटिएका लेख, संस्मरण, साहित्य आदिबारे टिप्पणी गर्दै आफ्ना अमूल्य अनुभव दिएर सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो । सेवा निवृत्त शिक्षकहरुको अनुभवबाट नयाँ पुस्तालाई शिक्षित र सुसूचित गर्ने उद्देश्यस्वरुप शैक्षिक अनुभव निरन्तर प्रकाशनमा जोड दिँदै आएको बताउनुभयो ।
समाजका कोषाध्यक्ष विश्वराम कवांले सेवा निवृत्त शिक्षक समाजका प्रतिनिधिहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै समाजलाई आर्थिक रुपमा सबल बनाउन प्रयास हुँदै आएको बताउनुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, सचिव शेरबहादुर ङाखुसी, सदस्य तुल्सीराम ग्वाछा र मोर्डन इ. स्कूलका प्रिन्सिपल अनिल कसपालले पनि समाजमा नयाँ नयाँ सेवा निवृत्त शिक्षकहरुलाई स्वागत पाउँदा खुशी अनुभव भएको बताउँदै ‘हामी अझै सबल छौं’ भन्ने नारालाई सार्थकता दिन सेवा निवृत्त शिक्षकहरु अझ क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको लागि सहयोगी भूमिका निर्वाह गरेका विद्यालयलाई सोही अवसरमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।