भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४५ औं विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गर्नुभयो ।
भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका फिनल्याण्ड र अष्ट्रेलियाका २ जना पर्यटकहरूलाई लाखे प्याखं र जंगली प्याखंको प्रस्तुसीसँग भक्तपुर नगरमा स्वागत गरिएको थियो ।
पर्यटकहरूलाई स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले पर्यटक भनेका विश्व प्रचारक पनि हुन् भन्दै उहाँले पर्यटक लक्षित गतिविधिमा भक्तपुर नपाले जोड दिंदै आएको बताउनुभयो ।
भक्तपुर नपाले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै विश्वकै हेर्न र घुम्न लायक आकर्षक गन्तव्यस्थलको रुपमा विकास गरी देश विदेशमा भक्तपुर आकर्षित गर्ने योजनाले काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले विश्व पर्यटन दिवसको अवसरमा आज गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम समेत रहेको जानकारी गराउनुभयो ।
सोही क्रममा भक्तपुर प्रवेश गर्ने अष्ट्रेलियाका रागबीर कालसी र फिनल्याण्डका ईलका रोईट्टोले भक्तपुर नपाले गरेको स्वागतको लागि धन्यवादज्ञापन गर्दै नेपाल भ्रमणका क्रममा भक्तपुर घुम्न र यहाँका सम्पदाहरु अवलोकनबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्वागत मन्तव्य राख्नुभएको थियो भने पर्यटन सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।
आज बिहानै नगर प्रवेश गर्ने १४ जनाको विदेशी पर्यटक टोलीलाई पनि भक्तपुर नपाले नगर प्रवेशद्वारमा स्वागत गरिएको थियो ।




