Explore news and happenings at Bhaktapur

घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने विषयमा वडाबासीहरुबीच छलफल

२०७८ मंसिर ४, शनिबार १८:५७

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ३ को आयाजनामा भक्तपुर नपाभित्र घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने विषयमा शनिबार वडाबासीहरुबीच छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले स्थानीय निकाय निर्वाचनमा निर्वाचित भएको १०० दिन पूरा भएदेखि भक्तपुर नपाभित्र घरदैलो कार्यक्रम सञ्चालनमा ल्याएको अवगत गराउनुहुँदै कोभिडका कारण स्थगित यस कार्यक्रमलाई पुनः सबै वडामा प्रभावकारी बनाउँदै लाने बताउनुभयो ।

घरदैलो नर्सिङ सेवाले नगरका प्रत्येक वडाबासीको घरमा ख्वप अस्पतालका नर्स र स्वास्थ्य स्वयम्सेविका गई बिरामीहरुलाई परामर्श, आवश्यक सल्लाह सुझाव र उपचारलगायतका कामहरु हुँदै आइरहेको बताउनुभयो ।

हामीले भूकम्पपछिको सार्वजनिक महत्वका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारलाई मुख्य प्राथमिकतामा राखेर पुनःनिर्माण कार्यलाई अगाडि बढायौं, उहाँले भन्नुभयो, कोभिड महामारीबीच जनताको जीवन रक्षाको लागि नपाबाट स्थापित अक्सिजन प्लान्ट निर्माणको लागि यहाँका जनताहरुबाट भएको आर्थिक तथा भौतिक सहयोग उल्लेखनीय भएको र जनताको सेवा समर्पित भएर लाग्न अझ हौसला मिलेको छ ।

भक्तपुर नपाले सबै वडामा शारीरिक व्यायामशाला स्थापना, कडा रोग लागेका नगरबासीलाई रु. १५ हजार आर्थिक सहयोग, छिकोङ खेलको प्रशिक्षण सञ्चालन लगायतका गतिविधिहरुमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

एमसीसी सम्झौता नेपालको हित विपरीत भएको चर्चा गर्नुहुँदै यो सम्झौता कुनै पनि हालतमा नेपालको संसदमा अनुमोदन गराउन नहुनेतर्फ जनतालाई सचेत पार्नुभयो । नेमकिपाले एमसीसीको विरोधमा देशव्यापी रुपमा जुलुस तथा सभा गरी जनतालाई सचेत र संगठित पार्दै आइरहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले गरिब तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै नगरपालिकाले शैक्षिक ऋण वितरण गर्ने कार्यक्रमलाई चालु राखेको बताउनुहुँदै व्यापक जनताको सेवाको निम्ति नपाले पुनः घरदैलो नर्सिङ सेवा सञ्चालन गर्न लागेको अवगत गराउनुभयो । उहाँले वडामै प्राथमिक स्वास्थ्य सेवा पनि सञ्चालन गर्ने तयारीमा नगरपालिका जुटेको बताउनुभयो ।

ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले २०७४ साल भदौ ७ गतेबाट सुरु भएको घरदैलो नर्सिङ सेवालाई कोभिडका कारण स्थगित भएको र पुनः सुचारु गर्ने तयारीमा रहेको बताउनुहुँदै स्वास्थ्यमा जनताको सहज पहुँचको लागि वडा वडामै नर्सको व्यवस्था गरी सामान्य रोगको चेकजाँचको व्यवस्था नगरपालिकाले गर्ने योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य सुनिता अवाल, स्वास्थ्य स्वयम्सेविका सबि शिल्पकार र मैंया सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.