Explore news and happenings at Bhaktapur

ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण

भक्तपुर । कार्तिक २९ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा हालै नियुक्त भएका स्वास्थ्यकर्मीहरुबीच अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालनमा ल्याउनुको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै प्रमुख प्रजापतिले गरिब र विपन्न बिरामीहरुको सेवामा लक्षित गरी स्थापित ख्वप अस्पतालबाट गुणस्तरीय र जनताको विश्वास जित्ने ढंगले सेवा प्रवाह गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।

ख्वप अस्पताल स्थानीय तहबाट सञ्चालित नेपालकै स्तरीय अस्पतालको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुहुँदै उहाँले अस्पतालमा अक्सिजन स्थापना गर्न र अस्पताल निर्माणमा अहिले पनि जनताहरुबाट आर्थिक र भौतिक सहयोगहरु प्राप्त भइरहेको छ भन्नुभयो ।

उहाँले ख्वप अस्पताल भवन निर्माण कार्य करिब करिब अन्तिम चरणमा पुगिसकेको बताउनुहुँदै जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै नेपालकै उदाहरणीय अस्पतालको रुपमा यसलाई विकास गरिने बताउनुभयो ।

सबैको एकताबाट विकासको सम्भावना भएको हुँदा अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले संस्था विकास र प्रगतिमा एकताबद्ध भई काम गर्नुपर्ने र यहाँ कार्यरत कर्मचारी र चिकित्सकहरु अनुशासित र इमानदार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले कोभिडको समयमा ख्वप अस्पताल कोभिड युनिटमार्फत कोभिडबाट ग्रसित जनताको सेवा गर्दै आइरहेको बताउनुहुँदै नगरका विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्यचौकी सञ्चालन गर्दै जाने उद्देश्य रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.