Explore news and happenings at Bhaktapur

वर्गशत्रुले अनेक षड्यन्त्र गरेर फसाउन सक्ने

मध्यपुर, १९ भदौ ।

0
मध्यपुरमा मङ्गलबार भक्तपुर काण्डको भत्र्सना गर्दै प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले लेनिनवादी नीतिअनुसार नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा गएर जनताको सेवा गरेको बताउनुभयो ।
तत्कालीन भक्तपुर नगर पञ्चायतले कक्षा ७ सम्म निःशुल्क पढाउने व्यवस्था गरेको, नगर पञ्चायतको ‘पञ्चायत’ मासिक पत्रिकामा माओ त्सेतुङ र स्तालिनको जीवनी प्रकाशित गरेको स्मरण गर्दै उहाँले शत्रुले कुनै पनि बेला अनेक षड्यन्त्र गरेर फसाउन सक्ने हुँदा हरबखत सचेत रहनुपर्छ भन्नुभयो ।
भक्तपुर काण्डको बेला पृथ्वीनारायण शाहले उपत्यका विजय गरेको बेलामा भन्दा अत्याचार गरेको उल्लेख गर्दै उहाँले नेमकिपाले शत्रुसामु नझुकी दमनको विरोध गरेको बताउनुभयो ।
नेमकिपाको योगदानले भक्तपुरको शैक्षिक स्तरमा उल्लेख्य परिवर्तन आएको चर्चा गर्दै उहाँले ख्वप विश्वविद्यालय स्थापनामा भक्तपुर नगरपालिका लागिरहेको स्पष्ट पार्नुभयो ।
इञ्जिनियर र नर्स तयार गर्दै सम्पदा संरक्षण र सरसफाइ गरेर भनपा अन्य स्थानीय तहको लागि अनुसन्धान गर्ने थलोको रूपमा विकास भइरहेको स्पष्ट पार्दै उहाँले कार्यकर्ताहरू पार्टीको निर्देशनअनुसार आ–आफ्नो स्थानबाट जनताको सेवामा जुट्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यराम श्रेष्ठले अग्रज नेता तथा कार्यकर्ताहरूको सङ्घर्षको स्मरण गर्दै युवा–विद्यार्थी कार्यकर्ताहरू राज्यको बेथितिविरुद्ध सक्रियतापूर्वक लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जनमतसङ्ग्रहको बेला देशका सबै वामपन्थीहरू बहुदलको पक्षमा लागेका भए उसबेलै पञ्चायती व्यवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उहाँले भक्तपुर काण्डपछि पञ्चायतविरुद्धको राष्ट्रिय संयुक्त आन्दोलन आरम्भ भएको विचार व्यक्त गर्नुभयो ।
मध्यपुर थिमि नपा वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि जनसेवामा लाग्नुपर्ने प्रेरणा भक्तपुर काण्डले दिएको विचार व्यक्त गर्नुभयो ।
राज्यको नीतिविपरीत सुनियोजितरूपमा पक्षपातपूर्ण ढङ्गले राहत वितरण गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेमकिपालाई समूल नष्ट गर्न राज्यले नै षड्यन्त्र गरेको बताउनुभयो ।
रमेश वैद्य र वीरकृष्ण प्रजापतिले पनि भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.