भक्तपुर नगरपालिकाद्वारा ११९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
भक्तपुर । २०८१ साउन २२, मंगलबार
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८१।८२ को लागि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमबीच छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलगायतले छात्रवृत्तिमा छनोट भएका ११९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र प्रदान गर्नुभएको थियो ।
भक्तपुर नपाले यस वर्ष व्यवस्थापनमा ६५, विज्ञानमा ३५, मानविकीमा ५ जना र शिक्षा विषयमा ९ जना र कानुन विषयमा ५ जना गरी ख्वप मावि, वागीश्वरी मावि, बासु मावि, शारदा मावि, पद्म मावि, विद्यार्थी निकेतन मावि, आदर्श आजाद कलेज र अक्सफोर्ड इंगलिश स्कूलका जम्मा ११९ जना विद्यार्थीहरूलाई ६२ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शिक्षाप्रति सरकारको न्युन प्राथमिकताले एसईई परीक्षाको नतिजा खस्किएको हो भन्दै देशको शिक्षा नीतिमै कमजोरी भएको कारण शिक्षा क्षेत्र झन् झन् खस्किँदै गएको बताउनुभयो ।
२०८० सालको एसईई परीक्षामा भक्तपुर नगरपालिकाका ८४.२७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको बताउँदै प्रमुख प्रजापतिले यसलाई शत प्रतिशतमा पु¥याउन विद्यालय र विद्यार्थीहरुले थप मेहेनत गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण सँगसँगै सबै क्षेत्रमा सन्तुलित ढंगले विकास गर्ने कोसिस गरिरहेको बताउँदै प्रमुख प्रजापतिले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुले थप मेहनताक साथ अध्ययन गरी समाजको लागि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई दिइने छात्रवृत्ति सुविधा नभई गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसरको रुपमा सदुपयोग गर्न विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले विद्यार्थीहरुलाई आफ्नो समाज र देशको सेवा गर्न प्रेरित गर्दै विदेश अध्ययन गर्न जाने युवाहरुले विदेशबाट सिकेको ज्ञान सीप नेपालको लागि सदुपयोग गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ख्वप माध्यमिक विद्यालयका प्रअ लक्ष्मीप्रसाद कर्माचार्य, बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य र नगर शिक्षा शाखा अधिकृत साधुराम फुँयालले पनि बोल्नुभएको थियो ।




