Explore news and happenings at Bhaktapur

शाननानका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

२०८१ साउन ८ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाको निमन्त्रणामा भक्तपुर भ्रमणमा आउनुभएको चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शाननान नगरपालिकाका कार्यकारी उपप्रमुख मु योङवनको प्रतिनिधमण्डललाई आज ख्वप इन्जिनिरिङ कलेजमा औपचारिक रुपमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले टोलीलाई नगर र नगरबासीहरुको तर्फबाट पुनः एकपटक भक्तपुरमा स्वागत गर्दै दुई देशका साहित्यलाई नेपालीमा अनुवाद गरी दुई देशबीचको सम्बन्ध थप बलियो र सुदृढ बनाउन सकिने बताउनुभयो ।
चीनले नेपाललाई धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै उहाँले चीन सरकारको सहयोगलाई संरक्षण गर्नुपर्ने विषयमा सचेत रहेको बताउनुभयो ।
एसियामा चीन शक्तिशाली राष्ट्रको रुपमा उदय भइरहेको छ भन्दै उहाँले चीनको बेल्ट एण्ड रोड परियोजना मावन जातिको साझा उद्देश्य प्राप्ति गर्ने मार्ग भएको बताउनुभयो ।
बौद्ध दर्शन शान्तिको पक्ष लिने दर्शन भएको बताउँदै सांसद सुवालले चीन र नेपालका विश्वविद्यालयबीच बौद्ध दर्शनसम्बन्धी पाठ्यक्रमको विकास गरी अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।
चीनको मुक्तिसँगै नेपाली जनताले ताइवानसँगको एक चीन नीतिलाई समर्थन गर्दै आएको बताउनुहुँदै सांसद सुवालले ५० वर्षको अन्तरालमा आउने भूकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिका कारण दुई देशबीचको सम्बन्धमा केही बाधा अवरोध सिर्जना भएको छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर र चीनको शान—नान नगरबीच मिति २०७३ साउन ३० गते भगिनी सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई नगरका जनताबीच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप बिस्तार गर्ने र सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, सहरी विकास र जनताबीच आपसी सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य रहेको बताउनुभयो ।
नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध बिस्तार र अनुभव आदानप्रदानले भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, भक्तपुर नगरपालिका र शानान नगरपालिकाबीच भगिनी सम्बन्धले निरन्तरता पाउने छ ।
प्रमुख प्रजापतिले आगामी दिनमा २०७३ साउन ३० गते हस्ताक्षर भएको भगिनी सम्बन्धको सहमति पत्रअनुसार भक्तपुर नगरपालिका र शानान नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदानको आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शाननानउपप्रमुख योङवनले शाननानको संक्षिप्त परिचय प्रस्तुत गर्दै चीनको पहिलो कम्युनिष्ट पार्टीको इकाइ स्थापना शाननानबाट भएको बताउनुभयो ।
उहाँले यातायातमा राम्रो सुविधा भएको क्षेत्र सान्नानको जनसंख्या ३ लाख ६० हजार रहेको छ, सांस्कृतिक र भौगोलिक कार्यक्रमहरुलाई अगाडि बढाएको शाननानले पशुपालन र कुखुरापालनलाई महत्वका साथ अगाडि बढाएका छौं भन्नुभयो ।
तिब्बतको पानी चीनका विभिन्न प्रान्तहरुमा पुर्याउन मिनिरल वाटरको व्यापारीकरणमा शाननानले जोड दिँदै आएको बताउँदै उहाँले नेपाल र चीनको सम्बन्ध इतिहासभन्दा पुरानो हो, भक्तपुर शाननानबीचको मित्रताले नेपाल चीनबीचको मित्रतामा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभ्यो ।
२०१६ मा भक्तपुर र शाननानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनापछि स्वास्थ्य क्षेत्रमा यी दुई सहरबीच सहकार्य भएको र आगामी दिनमा पनि पर्यटन, आर्थिक, शिक्षालगायतका क्षेत्रहरुमा सहकार्य र समन्वय गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो । भ्रमणले दुई शहरबीचको आर्थिक आदानप्रदानलाई अझ बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमपश्चात प्रमुख अतिथि प्रेम सुवाल र नगर प्रमुख सुनिल प्रजापतिले उपप्रमुखसहितको प्रतिनिधिमण्डललाई मायाको चिनो हस्तान्तरण गर्नुभयो । सोही क्रममा नगर प्रमुख प्रजापलिते चिनियाँ प्रतिनिधिमण्डलको भक्तपुर भ्रमणका फोटो एल्बम पनि हस्तान्तरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.